मोवाइल रिचार्ज गर्ने तरिका फेरियो, अब यसरी गर्न सकिन्छ रिचार्ज

काठमाडौं – सबै दुरसञ्चार सेवा प्रदायक कम्पनीको मोवाइल रिचार्ज गर्ने तरिका परिवर्तन हुने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले ‘दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्रि नम्बर व्यवस्थापन कार्यविधि, २०७७’ जारी गरेपछि सबै कम्पनीले रिजार्च गर्ने तरिका परिवर्तन गरेको हो ।

प्राधिकरणले यो कार्यविधि छिट्टै लागु हुने जनाएको छ । कार्यविधि लागु भएको ६ महिना भित्र सबै कम्पनीले सर्ट कोडमा समानता ल्याउनु पर्ने प्राधिकरणले जनाएको छ । कार्यविधि लागु भएपछि मोवाइल रिचार्ज गर्न ११२ डायल गरेर प्राप्त निर्देशन अनुसार गर्न सकिने छ ।

त्यस्तै, व्यालेन्स थाहा पाउन १४४, ब्यालेन्स ट्रान्सफर गर्न १३३ डायल गर्न सकिने छ । फरक÷फरक सर्ट कोड हुँदा प्रयोगकर्तालाई समस्या भएको ठहर गरेर नयाँ व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । कार्यविधमा उल्लेख भएअनुसार १६६० बाट सुरु हुने टोल फ्रि नम्बर अब १८०० बाट सुरु हुनेछ । त्यस्तै ११ अंकमा हरेको टोल फ्रि नम्बर अब १० अंकमा रहनेछ । यसअघि नेपाल टेलिकमले ११ अंक र एनसेलले १० अंकको टोल फ्रि नम्बर प्रयोग गर्दै आएका थिए ।