कक्षा १२ को परिक्षा दशैं अघि हुने, यस्तो छ बोर्डको तयारी

भदौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दशैं अगाडि नै गर्ने भएको छ । परिक्षा विभिन्न चरणमा गर्ने गरी बोर्डले प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदन अनुसार पहिलो चरणको परिक्षा कोरोनाको असर नभएका जिल्लाहरुमा दशैं अगाडिनै गर्न सकिने छ ।
कोरोनाको असर नरहेको जिल्लामा पहिलो चरणमा परीक्षा गर्ने गरी बोर्डले प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको हो । ‘विभिन्न विकल्पका विषयमा छलफल भइरहेको छ । सरकारले स्वीकृति दियो भने कोरोनाको असर नभएको ठाउँमा पहिलो चरणमा परीक्षा गर्न सकिन्छ,’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘सरकार कोरोना नियन्त्रणमा फोकस रहेकाले गाह्रो भएको हो । भोलि परीक्षा गर्दा कोरोना फैलने जोखिम पनि उत्तिकै छ ।’
सरकारले स्वीकृति दिए पहिलो चरणको परीक्षा दसैँअघि गर्न सकिने उनले बताए । ‘परीक्षा कोभिडमा निर्भर छ । अवस्था कसरी अगाडि बढ्छ अहिले नै भन्न सकिदैँन । तर, सरकारले स्वीकृति दियो भने दसैँअघि कोरोना प्रभाव नरहेको क्षेत्रमा परीक्षा गर्न सकिन्छ,’ उनले भने ।
१२ को परीक्षा गत ८ वैशाखका लागि तोकिएको थियो । कोरोना भाइरसका कारण स्थगित भएको १२ को परीक्षाका विषयमा सरकारले निर्णय गर्न सकेको छैन ।
कक्षा १० को विद्यालयले मूल्याङ्कन गरेर नतिजा सार्वजनिक भइसकेको छ भने ११ को परीक्षा विद्यालयलाई नै गर्न दिने निर्णय भइसकेको छ । १२ को परीक्षाका विषयमा निर्णय नहुँदा विद्यार्थी अन्योलमा छन् ।