निषेधाज्ञा लम्बिए आन्दोलन गर्ने व्यवसायीहरुको चेतावनी

काठमाडौं – जारी निषेधाज्ञा लम्बिए कडा आन्दोलन गर्ने व्यवसायीहरुले बताएका छन । गाडी व्यवसायीहरुको छाता संगठन अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले व्यवसाय संचालनको वातावरण नबनाए स्वस्फूर्त रुपमा गाडी सहित सडकमा आउने चेतावनी दिएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन विकल्प नभएको भन्दै नाडाले सुरक्षात्मक उपायकासाथ व्यवसाय संचालनको माहोल मिलाउन सरकारसँग आग्रह गरेको हो। नाडाले दक्षिण पूर्वी एशियाका देशहरुले लकडाउन बिना नै संक्रमण रोकथामको उपाय अवलम्बन गरेको उदाहरण पेश गर्दै नेपालमा पनि त्यसै गर्नलाई सरकारलाई सुझाव दिएको छ।
‘उच्च गतिमा संक्रमण बढीरहेको भनिएको अमेरिका जस्तो मुलुकहरुमा पनि लकडाउन नगरिएको सन्दर्भमा लकडाउन नै संक्रमण रोकथामको एक मात्र उपाय हो भन्ने आधार देखिदैन’ नाडाको बिज्ञप्तीमा उल्लेख छ ।
लकडाउनले देशको अर्थतन्त्रलाई धरासायी बनाउने मात्र नभई बेरोजगारीको भयावह समस्या समेत उत्पन्न गरिरहेको जानकारी गराउदै निषेधाज्ञाको अवधि थपिदै जाँदा समस्या अरु भयावह हुने नाडाको दाबि छ।
लकडाउनका कारण अटोमोवाइल व्यवसायीहरु पनि ठूलो मारमा परेको र उनिहरुलाई आफनो उद्योग व्यवसायबाट नै बन्चित हुनु पर्ने दारुण अवस्था सिर्जना भएको जानकारी गराउदै नाडाले जनता स्वयं नै आफनो दुख्ख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सभांवना प्रवल हुदै गएको चेतावनी दिएको छ।