कोठा खोज्दै प्रचण्ड !

काठामडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भाडाका लागि घर खोजीरहेको बताएका छन । शैलुङ इन्टरप्राइजेजका प्रमुख तथा उनका घरबेटी शारदाप्रसाद अधिकारीसँग जोडेर आफूलाई बदनाम गरेको भन्दै आफ्ना लागि नयाँ घर खोजीरहेको बताए ।
आइतबार वेलुका जनता टेलिभिजनसँग कुराकानी गर्दै नेता प्रचण्डले राम्रो घर भेटिए छिट्टै सर्ने बताए । पछिल्लो पटक मल ल्याउन नसकेर कारवाहीमा परेका अधिकारीको विषयलाई लिएर प्रचण्डको बदनाम भइरहेको छ । ‘पटकपटक यो मेरो घरबेटी भन्ने कुरा आएको छ। अब यो घरबेटीले कहाँ ठेक्का लिन्छन् ? के गर्छन् ? मलाई केही थाहा पनि छैन’, उनले भने, ‘यी ठेक्का भनेका त म यो घरमा आउनुभन्दा धेरै पहिलेका ठेक्का हुन् । मसँग कुनै गोरु बेचेको साइनो पनि छैन।’
मल प्रकरणमा पनि आफ्नो चासो रहेको उनले बताए। यसका साथै दोषी देखिए कारबाही गर्न पनि उनले आग्रह गरे। ‘यो मल प्रकरण के भएको हो भनेर हिजो मात्रै पनि मैले कृषिमन्त्रीसँग पनि कुरा गरेँ। कसैले बदमासी गरेको छ भने कारबाही गर्दा हुन्छ। मेरो त्यसमा कुनै आपत्ति छैन।’
बाटाहरूका ठेक्का शैलुङले लिएको तर त्यसमा काम नगरे आफूलाई जोड्ने गरिएको भन्दै उनले दुखेसो व्यक्त गरे। यसका साथै आफू उनको घरमा डेरा बस्न जानुभन्दा अघिदेखि नै लिएको तर आफूलाई जबर्जस्ती जोड्ने गरिएको उनले बताए।
शैलुङ कन्सट्रक्सन र शैलुङ इन्टरप्राइजेजका प्रमुखसमेत रहेका अधिकारी र उनले लिने ठेक्कापट्टामा आफ्नो कुनै संलग्नता नरहेको दाबी अध्यक्ष दाहालले गरे।