नविल बैंकमा नेताको गैरकानुनी लगानी, बैंक ब्ल्याक लिष्टमा पर्ने खतरा

काठमाडौं – चौधरी ग्रुपको लगानी रहेको नविल बैंकमा एक नेताको गैरकानुनी लगानी रहेको पाइएको छ । बैंकमा बङ्गलादेशी राजनीतिज्ञ, व्यवसायी तथा उद्योगपति एनबी इन्टरनेशनलका संचालक अब्दुल आवल मिन्टुको गैरकानुनी लागनी रहेको पाइएको छ ।

बङ्गलादेश नेशनल पार्टी (बीएनपी) का उपाध्यक्ष मिन्टुले नविल बैक खोल्ने वेलामा गरेको लगानीको श्रोतको खोजी गरिएको छ । बङ्गलादेशको एएमएल सीएफटी कार्यान्वयन गर्ने वित्तीय जानकारी इकाइ र भ्रष्टाचार अनुसन्धान आयोग (एसीसी) ले उनको परिवारको सम्पत्तिको स्रोत खोजबिन गरेपछि नविल बैंकमा पनि गैरकानुनी लगानी रहेको हुनसक्ने अनुमान गरिएको छ ।

मिन्टु एएमएल सीएफटीको कारण कालो सूचीमा परेमा कुनैपनि बैंकले जारी गरेको प्रतित पत्र (एलसी) विश्वका अन्य बैंकले स्वीकार्दैनन् । त्यसैगरी त्यस्तो बैंकले विदेशी मुद्राको अन्य कारोबारसमेत गर्न रोकिने छ ।

नबिल बैंकमा एनबी इन्टरनेशनल, बङ्गलादेशको ५० प्रतिशत सेयर लगानी छ । त्यसमध्ये आधा लगानी एनबी इन्टरनेशनल, आयरल्याण्डको हो । बाँकी आधा बङ्गलादेशी राजनीतिज्ञ, व्यवसायी तथा उद्योगपति मिन्टुको र अन्तिम आधा चौधरीको कम्पनी सिनोभेसन ईंन्कको हो । सिनोभेसनका तीनजना साझेदारमा नोपालका एकमात्र डलर अर्वपति विनोद चौधरी र उनका छोराहरू राहुल र बरुण छन् ।

अब्दुल आवल मिन्टु

अब्दुल आवल मिन्टु

एसीसीले मिन्टुमाथि बैंकरहरूको मिलेमतोमा नक्कली कागजातको प्रयोग गरी ऋण लिएको, करोडौंको कर छलेको, बैंकरहरूको सहयोगमा शंकास्पद विदेशी मुद्रा कारोबार गरेको र स्रोत नखुलेको सम्पत्ति मुलुक बाहिर लगेको गम्भीर आरोप लगाएको छ । मिन्टुलाई दुई वर्ष अघिदेखि र छोरा तफ्सीर मोहम्मद आवललाई हालै एसीसीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

एनबी इन्टरनेशनल, बङ्गलादेशका मिन्टु,उनकी श्रीमती र छोराले गैरकानुनी माध्यम प्रयोग गरी मुलुकबाट पुँजी पलायन गरेको आरोपमा अनुसन्धानलाई तीब्र पारिएको छ । ढाकामा भइरहेको छानबिनमा मिन्टुले नेपालको नबिल बैंकमा लगानी गरे वापत हरेक वर्ष डलरमा प्राप्त नगद लाभांश मुलुक नल्याएको आशंका गरिएको छ । अर्कोतर्फ, अढाई दशकअघि नबिल बैंकमा गरिएको करोडौं लगानीकोसमेत स्रोत खोजिएको छ । यसबाट एनबी इन्टरनेशनल, बङ्गलादेश र चौधरीको सिनोभेसनको ‘डलर चेन’ को रहस्य खुल्ने अनुमान गरिएको छ ।

स्रोतका अनुसार एसीसीले मिन्टु र उनको परिवारले विदेशमा गरेको अवैध लगानीको परिमाण पत्ता लगाउन पछिल्लो कदम चालेको बताइएको छ । मिन्टु बङ्गलादेश चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एफबीसीसीआई) का पूर्वअध्यक्ष हुन् । उनले सन् १९९० को दशकको प्रारम्भकी तत्कालीन तथा हालकी प्रधानमन्त्री शेख हसिनाको निकै नजिक रहेर आफूलाई एकाएक चर्चित व्यवसायीमा परिणत गरेका थिए ।

तर, पछि उनी राजनीतिक रङ्ग फेर्दै बङ्गलादेश नेशनल पार्टी (बीएनपी) मा आबद्ध भए । अहिले उनी त्यहि पार्टीको उपाध्यक्ष छन् । यसअघि उनलाई सैन्य समर्थित कामचलाउ सरकारले अन्य धेरै राजनीतिज्ञ र व्यवसायीसँग मिलेर भ्रष्टाचार गरेको आरोपमा आवश्यक अनुसन्धानको लागि पक्राउ गरेको थियो ।