कान्तिपुर टेलिभिजनमा एक घण्टा अवरोध

Aकाठमाडौं – देशकै ठूलो र व्यवसायिक रुपमासमेत सफल देखिएको कान्तिपुर मिडिया ग्रुप अन्तर्गत सञ्चालित कान्तिपुर टेलिभिजनले लामो समयदेखि कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीहरुलाई बिना कारण कामबाट निष्काशन गरेको विरोधमा आइतबार कान्तिपुर टेलिभिजनकर्मीले आफ्नो काममा एक घण्टा अवरोध गरेका छन ।
तिनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयमा पुगेका पत्रकार तथा कर्मचारीहरुले मिडिया मालिकले कामबाट निष्काशन गरेका सबैलाई पुर्नवाहली नगरेमा कडा संघर्षमा उत्रिने चेतावनी दिदै सो अवरोध कार्यक्रम गरेका हुन ।
कान्तिपुर टेलिभिजन कर्मचारी संघले आयोजना गरेको उक्त अवरोधको कार्यक्रममा विभिन्न पत्रकार संगठनहरुले पनि ऐक्यवद्धता जनाएका थिए ।
कान्तिपुर टेलिभिजनले श्रमजीवी कर्मचारीमारा नीति लिएको भन्दै बिना कारण कामबाट निष्काशन गरिएका सबै पत्रकार तथा कर्मचारीहरुलाई तत्काल काममा फर्काउन दवाव दिदै गरिएको उक्त कार्यक्रममा टेलिभिजनका प्राय सबै श्रमजीवीहरुको सहभागिता थियो ।
कान्तिपुर टेलिभिजनमा कार्यरत कर्मचारी तथा पत्रकारहरुले गेट भित्रबाट आन्दोलन गरिरहेका थिए भने गेट बाहिर नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीको नेतृत्वमा आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गरिरहेका थिए ।
विरोध कार्यक्रमलाई टेलिभिजनको गेट भित्रबाट कान्तिपुर टेलिभिजन कर्मचारी संघकी अध्यक्ष निर्मला बस्नेतले सम्बोधन गर्दै मिडिया मालिक तथा व्यवस्थापन पक्षलाई कर्मचारीमाथिको अन्याय रोक्न र श्रमीकवर्गिय न्यायको पक्षमा उभिन आह्वान गरेकी थिइन ।
उनले मिडिया मालिकका कारण पछिल्लो समय धेरै कर्मचारीहरुमाथि मानसिक ट्रचर भएको भन्दै लामो समयदेखि काममा रहेका, सक्षम कर्मचारी पत्रकारहरुलाई हटाइएको र कतिपयलाई काम गर्ने वातावरण नबनाइएको भन्दै विरोध गरिन ।
गेटभित्र कर्मचारी, पत्रकारहरुले गरेको धर्नाको कार्यक्रममा एक्वयबद्धता जाहेर गर्दै गेटबाहिरबाट ऐक्यबद्धता मन्तव्य राख्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले पत्रकार महासंघ र आफ्नो संगठन जहिले पनि श्रमजीवी पत्रकार तथा कर्मचारीहरुको हक, हित र अधिकारको पक्षमा आन्दोलनरत रहेको बताए ।
उनले पछिल्लो चरण कोरोना प्रकोपको कारण देखाउँदै लामो समयदेखि मिडियामा योगदान पुर्याएका पत्रकार तथा कर्मचारीहरुलाई मिडिया मालिकले अबैधानीक रुपमा, अपमानीत रुपमा कामबाट निष्काशन गर्ने, तलब घटाउने, काम गर्ने वातावरण नगराउने, दुख दिने काम गरेको बारेमा सूचना, जानकारीहरु आएको भन्दै त्यसलाई आन्तरिक रुपमा हल गर्न आग्रह गरे ।
उनले संघ, संगठन र कर्मचारीहरुले उठाएका जायज मागमा आफ्नो ऐक्यवद्धता रहेको भन्दै त्यसको सुनुवाई मिडिया मालिकले नगरेमा थप संघर्षका लागि सडक र कार्यालयमा आन्दोलित हुन कर्मचारी, पत्रकारहरु बाध्य हुने बताए ।