चौतर्फी विरोध भएपछि पछिहट्यो बीमा समिति

काठमाडौं – चौतर्फी विरोध भएपछि कोरोना बीमाको दाबी भुक्तानीका विषयमा बीमा समिति पछि हटेको छ । समितिले निजी ल्याबमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिए कोरोना बीमा गर्नेहरुले दाबी भुक्तानी नपाउने जनाएपछि चर्को विरोध भएको थियो ।

समितिले पुर्नविचार गर्दै कोरोना बीमा मापदण्ड २०७७ संशोधन गर्न लागेको बीमा समितिले जनाएको छ । समितिले निजी निजी ल्याबमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपनि बीमा दाबी भुक्तानी पाउने व्यवस्था गर्ने स्रोतको भनाइ छ ।

बीमा समितिले यस अघि निजी ल्याबबाट भएको परीक्षणको दाबी भुक्तानी नदिन बीमा कम्पनीहरुलाई पत्रचार गरेको थियो । बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ अनुसार निजी ल्याबमा परीक्षण गर्दा दाबी भुक्तानी नपाउने जनाएको थियो ।

कोरोना बीमा मापदण्डमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसीआर परीक्षण गर्दा मात्रै कोरोना भाइरस संक्रमण देखिएको प्रमाण पेश गरेपछि दाबी भुक्तानी पाउने जनाएको छ ।