गुराँस लाइफ इन्स्योरेन्सले सच्यायो लाभांश, कति छ बोनस ?

काठमाडौं –गुराँस लाइफ इन्स्योरेन्सले लाभांश परिमार्जन गरेको छ। आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश परिमार्जन भएको हो।

अब कम्पनीको शेयरधनीहरुले १०.५० प्रतिशत बोनस तथा त्यसमा लाग्ने कर प्रयोजनको लागि ५१ लाख ८६ हजार ५५८ रुपैयाँ मात्रै पाउनेछन्। कम्पनी सञ्चालक समितिको भदौ १९ गते बसेको बैंठकले लाभांश परिमार्जन गरेको हो । यस अघि सञ्चालक समितिको बैठकले १३.१०१५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।

उक्त प्रस्ताव स्वीकृतिको लागि बीमा समिति पठाएकोमा समितिले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणमा परिमार्जन गरि पुनः पेश गर्न निर्देशन भएपछि लाभांश दरमा परिवर्तन आएको कम्पनीले जनाएको छ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिबाट स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।