अल्का अस्पतालमा कार्यरत महिलाको शव जङ्गलमा भेटियो

काठमाडौं – अल्का अस्पतालमा कार्यरत एक महिलाको हत्या भएको छ । ललितपुरमा रहेको अस्पतालमा कार्यरत ३९ वर्षीय गीता केसीको हत्या भएको हो ।
प्रहरीले उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जङ्गलमा फेला पारेको छ । हत्या आशंकामा केसीको घर रहेको भैंसीपाटीबाट उनकै भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।
केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो । प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जङ्गलमा महिलाको शव भेटिएको थियो ।
शनिबार बिहान उक्त शव केसीको भएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी कृष्णराज ओझाले जानकारी दिए । प्रारम्भिक अनुसन्धानबाट गीताको घाँटी थिचेर हत्या भएको अनुमान गरिएको छ ।
हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ । केसीको शरीरमा अन्य चोटपटक देखिएको छैन । यद्यपि, पोष्टमार्टमपछि विस्तृत जानकारी आउने प्रहरीको भनाइ छ ।