बीमा कम्पनीलाई निजी ल्यावको रिर्पोट मान्ने नहुने

काठमाडौं – नेपालमा कोरोना संक्रमण सुरु भएदेखि विभिन्न बीमा कम्पनीहरुले कोरोना बीमा गरिरहेका छन । एक बर्षका लागि गरिएको कोरोना बीमा कोरोनाको रिपोर्ट पोजेटिभ आएको खण्डमा दाबी गर्न सकिन्छ ।

तर निजी ल्याबमा कोरोना परीक्षण गराई पोजेटिभ देखिएमा बिमा कम्पनीहरुले दाबी भुक्तानी नगर्ने भएका छन् । पछिल्लो समय खुलेका निजी ल्याबहरुले बदमासी गरेर नेगेटिभ देखिएका बिरामीहरुलाई पनि पोजेटिभ भएको भन्दै रिपोर्ट बुझाएर भुक्तानी दाबी गरेको पाइएको भन्दै बिमा समितिले यसमा अंकुश लगाएको हो । समितिले निजी ल्याबमा गरेको परीक्षणबाट पोजेटिभ देखिएमा भुक्तानी नगर्न बिमा कम्पनीहरुलाई सर्कुलर जारी गरेको छ ।

बिमा भुक्तानीका लागि निजी ल्याबहरुले मिलेमतो गरी पोजेटिभ रिर्पोट बनाएर फर्जी काम गरेको फेला परेपछि दाबी भुक्तानीमा कडाई गरिएको समितिले जनाएको छ । ‘कोभिडको दाबी भुक्तानी दिँदा स्वास्थ्य मन्त्रालय अन्तर्गतका ल्याब तथा अस्पतालमा भएको परीक्षण रिपोर्टका आधारमा मात्रै दिनू होला’ समितिले कम्पनीहरुलाई दिएको निर्देशनमा भनिएको छ ।

कोरोना बीमा मापदण्ड २०७७ मा स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको प्रमाण पेश भएमा ७ दिनभित्र दाबी भुक्तानी गर्नुपर्ने उल्लेख छ । संक्रमितका लागि ५० हजारदेखि १ लाख रुपैयाँको कोरोना बिमा गरिएको छ । कोरोना पोजेटिभ देखिने बित्तिकै भुक्तानी पाउने भएकाले पछिल्लो समय धेरैले यस्ता फर्जी रिपोर्टहरु बनाइएको तथ्य खुलेपछि बिमा समितिले कडाई गरेको हो ।