यूनिभर्सल पावरको नाफा ९८ प्रतिशत बढ्यो

काठमाडौं – यूनिभर्सल पावर कम्पनी ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको यो नाफा अघिल्लो आवको यसै अवधिको तुलनामा २ करोड ८२ लाख रुपैयाँ अर्थात् ९८.०२ प्रतिशतले धेरै हो।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले २ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
अन्य स्रोत मार्फतको आम्दानी बढ्नुका साथै प्रशासनिक खर्चमा व्यवस्थापन गर्दा कम्पनीको नाफामा बढोत्तरी देखिएको हो ।
यस अवधिमा कम्पनीले अन्य स्रोत मार्फत् ८ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ। यो आम्दानी अघिल्लो आवको चौथो त्रैमासको तुलनामा ३ करोड ७४ लाख अर्थात् ८१.८८ प्रतिशत धेरै हो।
चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १० करोड १४ लाख रुपैयाँ सञ्चित छ। यसैगरी कम्पनीको दीर्घकालीन ऋण एक अर्ब २५ करोड ३३ लाख रुपैयाँ रहेको छ।
प्रतिशेयर आम्दानी २ रुपैयाँ ७२ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ८३ पैसा र मूल्य आम्दानी अनुपात २५.७५ गुणा छ।
कम्पनीले दोलखा जिल्लामा अवस्थित खारे खोलामा हाल निर्माण गरिरहेको ११ मेगावाटको जलविद्युत आयोजना अन्तिम चरणमा छ। त्यसैगरी, कम्पनीले माथिल्लो इङ्खु खोला जलविद्युत आयोजनाको अध्ययन गरिरहेको छ भने ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना निर्माण गर्न लगानी गर्ने सम्झौता गरेको छ।