ह्वात्तै बढ्यो पाँचथर पावर कम्पनीको नाफा, कति छ प्रतिसेयर आम्दानी ?

काठमाडौं – पाँचथर पावर कम्पनीको नाफामा ह्वात्तै बढेको छ । अघिल्लो आर्थिक बर्षको यही अवधिमा १२ करोड ६ लाख ४७ हजार रुपैयाँ नोक्सान रहेको कम्पनीले यो आर्थिक बर्षमा ८ करोड ४० लाख ८ हजार रुपैयाँ नाफा कमाएको छ ।

विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै कम्पनी नाफामा गएको हो । १३२ केभीको काबेली विद्युत प्रसारण लाइन सम्पन्न भई आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत केन्द्रीय प्रसारण लाइनमा प्रवाह गर्न सकिएकाले विद्युत बिक्रीबाट हुने आम्दानी बढेको कम्पनीले जनाएको छ ।

यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी १४ करोड ९३ लाख ७७ हजार रुपैयाँले बढेर ३९ करेड ९२ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसले २४ करोड ९९ लाख ९ हजार रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेको थियो । असार मसान्तसम्म आइपुग्दा यस कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।

जगेडा कोष भने १३ करोड ९७ लाख ३ हजार रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७३ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ ८५ रुपैयाँ ४९ पैसा छ ।