अर्थमन्त्रीमा युवराज खतिवडाले निरन्तरता पाउने, यसरी मिलाइदै छ सेटिङ

काठमाडौं – अर्थमन्त्रीमा डा. युवराज खतिवडाले निरन्तरता पाउने भएका छन । पत्रकार ऋषि धमलासँगको कार्यक्रम ‘जनता जान्न चाहन्छन’मा बोल्दैले प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा फेरी सिफारिस गरेर अर्थमन्त्रीमा निरन्तरता दिने संकेत गरे ।
ओलीले खतिवडाबारे २–४ दिनमा निर्णय हुने भन्दै उनले राम्रो काम गरिरहेको स्पस्ट पारे । उनले भने, ‘२–४ दिन हेरौँ न, २० गते त आउन लागिहाल्यो । अहिले भविष्यबाणी गर्नु त्यति उचित हुँदैन ।’
अर्थमन्त्री खतिवडाले राम्रो काम गर्नुभएको छ ? भन्ने प्रश्नमा ओलीले भने, ‘राम्रो काम गर्नुभएको छ !’ उहाँको कार्यशैलीलाई लिएर बाहिर असन्तुष्टिहरु पनि आइरहेको छ नि भन्ने धमलाको प्रतिप्रश्नमा उनले भने, ‘कार्यशैली त कसको कसलाई मन पर्दैन त्यो कसरी भन्न सकिन्छ र ! केहीले मन पराउँछन् कसैले मन पराउँदैनन्, कसैलाई बेसी पनि मनपर्छ । सत्य जे हो, त्यही अनुसार चल्नुपर्छ ।’
युवराज खतिवडाले भन्दा अर्को अर्थमन्त्रीले राम्रो गर्ला भन्ने आफूलाई लागेमा फेर्न सक्ने भएपनि अहिलेसम्म उनको कार्यसम्पादन सन्तोषजनक भएको ओलीले बताए ।