लिदी पहिरोमा आमाबुवा गुमाएका बालबालीकाको शिक्षाको जिम्मा लिन्छु : सभामुख सापकोटाको

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले लिदी पहिरोबाट अभिभावक गुमाएका बालबालिकाको शिक्षाको सबै व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।

गत साउन ३० गते सिन्धुपाल्चोक जुगल गाँउपालिका–२ लिदीमा गएको पहिरोबाट विस्थापित भइ वडा नं. १ सेलाङको बाँसखर्कमा अस्थायी रुपमा बस्दै आएका पीडित परिवारसँग भेटघाट गर्न पुगेका सभामुख सापकोटाले विस्थापित १७२ घर परिवारको लागि स्थायी व्यवस्थाको लागि पहल गर्ने प्रतिवद्धतासमेत जनाएका छन ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले विस्थापित परिवारको लागि कुनै अभाव हुन नदिने दृढता व्यक्त गरे । पहिरो पीडित परिवारको लागि आवश्यक टेण्ट लगायत राहतको व्यवस्था भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

सभामुख सापकोटाका साथ वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका प्रमुख मधुसुदन अधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता समेत जानुभएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । पहिरोमा हराई रहेका ३९ मध्ये हालसम्म ३३ वटा शव फेला परेको छ । अन्य ६ जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।