कुलमान घिसिङ फेरी विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन ? यस्तो भन्छ उर्जा मन्त्रालय

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी  निर्देशक कुलमान घिसिङलाई दोश्रो कार्यकालका लागि नियुक्त गरेको भन्दै केही अनलाइन मिडियामा समाचारहरु आए । उक्त समाचार झुठो भएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ ।

ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ती नगरेको पुष्टि गरे । उनले, ‘उनलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव मन्त्रीपरिषदमा लगिएको छैन ।’

विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको बताए ।

मन्त्रालय स्रोतका अनुसार यसबारे मन्त्रालय अझै निष्कर्षमा पुगिसकेको छैन । मंगलबार मन्त्रिपरिषद्को बैठक रहेपनि यसबारे एजेण्डा नरहेको मन्त्रालय स्रोतको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । उनी आउनुअघि देशले दैनिक १८ घण्टासम्म लोडसेडिङ खेप्नु परेको थियो । उनी नेतृत्वमा आएसँगै देश लोडसेडिङ मुक्त बनेपछि उनलाई फेरि सोही पदमा दाहोर्याउनु पर्ने माग हुँदै आएको छ ।