नेकपा कार्यदलको प्रश्न, मदन भण्डारी फाउण्डेशनको आर्थिक श्रोत के हो ? (प्रतिवेदनको पूर्णपाठसहित)

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक समस्या समाधान गर्न गठित कार्यदलले नेताका नाममा गठित प्रतिष्ठान वा संघ संस्थाहरुको आर्थिक श्रोतमाथि छानविन गर्न सिफारिस गरेको छ । साथै कार्यदलले त्यस्ता संस्थाहरुमा संलग्नहरुको आर्थिक श्रोत खोज्न पनि सुझाव दिएको छ ।

नेकपा महासचिव विष्णु पौडेलको संयोजकत्तोमा गठित कार्यदलले नेताका नाममा खोलिएका प्रतिष्ठानहरुले पार्टी भित्र गुटबन्दी गरेको भन्दै उनीहरुको आर्थिक श्रोत खोज्न सुझाव दिएको हो । यसरी गुटबन्दी गर्नेमा मदन भण्डारी फाउण्डेसन पहिलो नम्बरमा आउँछ । जसमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीकै संलग्नता रहेको छ ।

गत साउन ३० गते गठित कार्यदले तयार पारेर अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई गत शनिबार बुझाएको प्रतिवेदनको बुँदा नम्बर १६ मा भनिएको छ, ‘पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रष्ठिान वा संघ संस्था परिचालित छन् । यी मध्ये अधिकांश गुटबन्दीको माध्यम बन्दै गएका छन् ।’

प्रतिवेदनले गुटबन्दी रोक्न प्रतिष्ठानहरुलाई नियमन गर्नुपर्ने सुझाव पनि दिएको छ । ‘त्यसका लागि पार्टीले यस्ता संस्थाहरुमा नेता वा कार्यकर्ताको संलग्नता र तिनको आर्थिक श्रोत तथा कृयाकलापका बारेमा तथ्यपरक जानकारी प्राप्त गर्ने । त्यस्ता संस्थाहरुमा पार्टीका नेता, कार्यकर्ता वा सदस्यहरुको संलग्नताको स्वरुप निश्चित गर्ने’, प्रतिवेदनले संघ वा प्रतिष्ठानमा रहने नेता कार्यकर्ताको संलग्नता र आर्थिक स्रोत र कृयाकलापको तथ्य राख्नुपर्ने जनाएको छ ।

त्यस्तै, त्यसवेलासम्म कुनैपनि प्रतिष्ठानले प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा विस्तार गर्न नपाउने प्रतिवेदनले सुझाव दिएको छ । ‘प्रतिष्ठानहरुको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न एक महिना भित्र प्रतिवेदन दिने गरी स्पष्ट कार्यादेश सहित कार्यदल गठन गर्ने । कार्यदलको प्रतिवेदन प्राप्त भएपश्चात् त्यस उपर छलफल गरी आवश्यक निर्णय लिने । तब सम्मका लागि पार्टीद्वारा गठित वा पार्टीका नेता कार्यकर्ता सम्मिलित कुनैपनि प्रष्ठिानहरुलाई प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा गठन नगर्न र गतिविधि नगर्न निर्देशन दिने’, प्रतिवेदनमा भनिएको छ । नेकपामा यसअघि नै नेताका नामका प्रतिष्ठान खारेज गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।