विश्वको नजर नेपालतीर, कोरोना विरुद्धको खोप परिक्षण गर्न तीन कम्पनी नेपालमा

काठमाडौँ – कोरोना भाइरस विरुद्धको खोप उत्पादनमा लागिरहेका तीन औषधि उत्पादक कम्पनीले नेपालमा तेश्रो चरणको परिक्षण सुरु गरेको छन । खोप विकासको चरणमा रहेका चीनको हङ् सी, अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेका र रुसको गेमेलियाले नेपालमा तेस्रो चरणको परीक्षण गर्न लागेका हुन ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोप विकासको चरणमा रहेको चीनको हङ् सी, अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेका र रुसको गेमेलियाले तेस्रो चरणको परीक्षण गर्न लागेको पुष्टि गरेको छ । परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार चीनको हङ सीले चिनियाँ कम्पनीमा कार्यरत एक हजार जनामा खोप लगाउने प्रस्ताव गरेको छ ।
खोप विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाबमोजिम तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि खोप निर्माता कम्पनीले विश्वका विभिन्न देशमा ठूलो सङ्ख्यामा परीक्षण गर्नुपर्ने हुन्छ । रुसी खोप उत्पादकलेसमेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय समक्ष प्रस्ताव राखेको परिषद्का सदस्य सचिव डा. ज्ञवालीले जानकारी दिए ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेकासँग विश्व स्वास्थ्य संगठनको समन्वयमा नेपालका अनुसन्धानकर्ता तथा चिकित्सकीय टोलीले वेबिनारमा खोपको परीक्षणबारे छलफल गरेको छ । अक्सफोर्ड विश्वविद्यालयले छिट्टै नै परीक्षणबारे अद्यावधिक जानकारी गराउने प्रतिबद्धता जनाएको छ ।
खोप उत्पादक कम्पनीले नेपाली स्वास्थ्यकर्मी, विज्ञसँगको समन्वयमा गरेको परीक्षण सफल भए नेपालले खोप पाउन सहज हुने विश्वास गरिएको छ ।
परिषद्ले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेका र रुसको गेनेलिया पनि इच्छा देखाएको जनाएको छ । नेपालमा खोप विकासको अध्ययन अनुसन्धान तथा परीक्षणसम्बन्धी गतिविधि सञ्चालन गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मेवारी दिइएको छ ।
चीनको वुहान इन्स्टिच्युट अफ बायोलोजिक प्रोडक्ट्सको सिनोफार्म, अक्सफोर्ड विश्वविद्यालयको आष्टा जिनेका र रुसको गेमेलिया नेशनल सेन्टर अफ इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजी खोप विकासमा अगाडि देखिएका छन् । गेमेलियाले भने दोस्रो चरणको परीक्षणमै खोप दर्ता गरी प्रभावकारी र सुरक्षित भएको दाबी गरिसकेको छ ।