एकैदिन दुई वटा कम्पनीको आईपिओ खुल्यो, कुनमा कति भर्ने ?

काठमाडौं – एकै दिन दुई ओटा कम्पनीको आईपिओ खुलेको छ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र रिलायन्स लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको साधारण सेयर निश्कासन आइपिओ आजबाट खुलेको हो ।
समार लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनमा ल्याएको छ भने रिलायन्स लाइफ इन्सुरेन्सले ६३ करोड रुपैयाँ बराबरको आईपीओ आज (बिहिबार भदौ ४)बाट निष्काशनमा ल्याएको छ ।
लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ। त्यस अवधिमा माग अनुसारको आवेदन नपरे ढिलोमा भदौ १८ गतेसम्म खुल्नेछ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
यता, इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको ६३ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५६ लाख ७० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
सर्वसाधारणले कम्पनीको आईपीओ भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन्। त्यस अवधिसम्ममा सम्पूर्ण शेयरको लागि आवेदन नपरेमा निष्काशन अवधि भदौ २२ गतेसम्म लम्बिनेछ।
इच्छुक लगानीकर्ताहरु न्यूनतम १० कित्तादेखि अधिकतममा ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग दिएको छ। यसले इन्स्योरेन्सको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।
इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ। एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको इन्स्योरेन्सले ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। आईपीओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ।