खाना पकाउने ग्यासको भाउ सिलिन्डरमै १३० रुपैयाँ घट्यो, पेट्रोल र डिजलको मूल्य बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको जनाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको मूल्य अनुसार निगमले पेट्रोल लिटरमा ९ रुपैयाँ र डिजलमा ७ रुपैयाँ मूल्य बढाएको छ।

निगमले खाना पकाउने ग्यासको मूल्य भने सिलिण्डरमा १ सय ३० रुपैयाँले घटाएको छ। निगमको मंगलबार बसेको संचालक समिति बैठकले मूल्य घटबढको निर्णय गरेको हो। निगमले दुई साताअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०को सहमति लिएर स्वचालित मूल्य कार्यान्वयन गरेको थियो।

अब काठमाडौंमा पेट्रोल लिटरको १७३ रुपैयाँमा पर्ने छ । काठमाडौंमै डिजल र मट्टितेल १ सय ५३ रुपैयाँ लिटर पर्नेछ। अब खाना पकाउने ग्यास उपभोक्ताले १६ सय ६० रुपैयाँमा पाउनेछन्।

आइओसीले मंगलबार पठाएको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर साढे ८ रुपैयाँ, डिजल तथा मट्टितेल ६.६८ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको थियो। ग्यासको मूल्य प्रति सिलिन्डर ११७.६२ रुपैयाँ घटेर आएको थियो।

भारतबाट ग्यासको भाउ घटेर आएपछि निगमको संचालक समिति बैठकले यहाँ पनि मूल्य घटाउने निर्णय गरेको हो। परल मूल्यमा डिजलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत मुनाफा निगमले राख्ने गरेको छ।