नेप्सेले पुनः दियो घट्ने क्रमलाई निरन्तरता

काठमाडौं – साताको दोस्रो कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से, मंगलबार पुनः घटेर बन्द भएको छ। मौद्रिक नीति सार्वजनिक भएपछि निरन्तर ओरालो लागेको नेप्से, सोमबार सामान्य अंक बढेको थियो।

तर, यस दिन नेप्सेले सो गतिलाई निरन्तरता दिन सकेन। फलस्वरुप, यस दिन नेप्से परिसूचक २८.५९ अंक घटेर २०७७.५८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.१३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५१ अंक घटेको छ।

मंगलबार बजारमा २६२ स्टकको ४० हजार ८३७ पटकको कारोबारमा १ अर्ब ९२ करोड ४४ लाख रुपैयाँ बराबरको ६० लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ३५ स्टकको मात्र मूल्य बढेको छ। यद्यपि ती स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ४.६० प्रतिशत बढेको छ। कारोबारमा आएको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य यस दिन सर्वाधिक ६.५४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन सिभिल लघुवित्त र प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अप्पर तामाकोशी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोल्टी होटलको ६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.३५ प्रतिशत बढेको छ।

कारोबारमा आएको वित्त, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।