असारमा बढी नाफा बुक गर्ने हाबी हुँदा सिजन नआउँदै प्रेसर, जेठमा १२ प्रतिशत बढेको बजार असारमा २ प्रतिशतमा खुम्चियो

काठमाडौं – शेयर बजारमा लगानी गर्नेहरुले प्रतिफलको लागि बढी लगानी गर्ने गर्छन्। लगानीको मुख्य उद्देश्य नै शेयर बजारबाट प्रतिफल पाउनु हो। सोही कारण शेयर बजारको लागि असार साउन सिजन मान्ने गरिन्छ। किनकि यही महिनामा प्रकाशित सूचिकृत कम्पनीहरुको वासलातले के कति प्रतिफल आउने भन्ने अनुमान लगानीकर्ताले लगाउने गर्छन्। सोही कारण असार, साउन महिनामा शेयर बजारमा वर्ष भरिकै अधिक कारोबार हुने गर्छ। चालु वर्ष पनि त्यस्तै देखिएको छ। जेठ भन्दा कारोबार रकम असारमा बढेर गएको जनाएको छ ।
कारोबार रकम बढी भए पनि लगानीकर्ताका लागि असार महिना खासै प्रभावकारी रहेन। जेठमै बजारले १२ प्रतिशतको वृद्धि कायम गर्दै गर्दा असारभरि लगानीकर्ता नाफा बुक गर्न मै बढी तल्लीन देखिए। जसले सूचकको वृद्धि दर नै तल झार्यो। असारमा प्रतिफलका लागि लगानी गर्ने र पूँजीगत लाभ मात्रै लिने लगानीकर्ताबीच शेयर किनबेचको होड चल्यो। जसले गर्दा सूचकमा खासै ठूलो अन्तर देखिएन।
नेप्सेको असार महिनाको मासिक विवरण अनुसार जेठमा नेप्सेको सूचकको वृद्धि २.६९ प्रतिशत मात्रै छ। जेठ अन्त्यमा २०४२.०७ अंकमा रहेको सूचक असार अन्तिममा २०९७.१ अंकमा उक्लिएको विवरणमा उल्लेख छ।
नेप्से सूचकको वृद्धिदर खुम्चिए झैँ कारोबार रकमको वृद्धिदरमा समेत सङ्कुचन देखिएको छ। असारमा कुल ८० अर्ब रुपैयाँ बराबरका शेयर किनबेच भएका छन् । जुन जेठको तुलनामा ६५ प्रतिशतको वृद्धि हो। जेठमा जम्मा जम्मी ४८ अर्ब ५३ करोड रुपैयाँ बराबरका मात्रै शेयर किनबेच भएका थिए। तर जेठमा ४८ अर्बको कारोबार भए पनि वैशाख महिनाको तुलनामा भने २०४.३३ प्रतिशतको वृद्धि देखिएको थियो।
नेप्से सूचक बढ्दै गएको कारण कारोबार रकम बढ्ने क्रम भने रोकिएको छैन। असार भरिनै शेयर बजारमा निक्कै उतार चढावमय रह्यो। जसको कारणले पनि कारोबार बढ्न टेवा मिलेको हो। यस पटक पनि कारोबार रकममा सबै समूहलाई हाइड्रो पावर समूहले उछिनेको छ। ८० अर्बको कुल कारोबार हुँदा हाइड्रोपावरको मात्रै १४ अर्ब २४ करोड रुपैयाँ बराबरका शेयर किनबेच भए।
जुन सबै समूहभन्दा बढी हो। यस अघिका महिनामा दोस्रो स्थानमा रहदै आएको वाणिज्य बैंक समूह असारमा भने तेस्रो स्थानमा झरेको छ। लगानीकर्ताले यस पटक नन् लाइफ इन्स्योरेन्स समूहलाई दोस्रो स्थानमा पुर्याएका छन्। असारमा ननलाइफ इन्स्योरेन्स समूहको ९ अर्ब ७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यसैगरि तेस्रो स्थानमा झरेको वाणिज्य बैंक समूहको ८ अर्ब रुपैयाँ बराबरका शेयर किनबेच भए।
कारोबार रकमको वृद्धिलाई प्रतिशतमा हेर्दा असारमा सबैभन्दा बढी फाइनान्स समूहको देखिएको छ। जेठको आधारमा असारमा फाइनान्स समूहको वृद्धि २१४.९१ प्रतिशतले कारोबार बढेको छ। दोस्रोमा होटेल छ। उसको कारोबार १०६.६९ प्रतिशतले बढ्यो भने तेस्रोमा सामूहिक लगानी कोष परेको छ। उसको १०४.३३ प्रतिशतले कारोबार रकम बढ्यो।
जेठमा बजार उल्लेख्य बढेको भएपनि कारोबार रकमको आधारले हेर्ने हो भने असार निक्कै महत्त्वपूर्ण रह्यो। दैनिक औसत कारोबार रकम समेत जेठमा उल्लेख्य बढ्यो। असारमा जम्मा २० दिन मात्रै शेयर कारोबार भयो। जबकि जेठमा २२ दिन शेयर कारोबार भएको थियो। असारमा २० दिन मात्रै शेयर कारोबार हुँदा पनि दैनिक औसत कारोबार रकम भने ४ अर्ब २ करोड रह्यो।
गत जेठमा भने २ अर्ब २० करोड रुपैयाँ बराबरको मात्रै दैनिक औसत कारोबार भएको थियो। जुन जेठको तुलनामा असारमा दैनिक औसत कारोबार रकम ४६.८७ प्रतिशतले बढी हो। साउन लागे सँगै बजारमा थप प्रेसर पर्न सुरु गरेको छ। पूँजीगत लाभका लागि शेयर बिक्री गर्ने हाबी हुँदा सिजन सुरु नहुँदै बजारमा प्रेसर पर्न थालेको हो।