निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से

काठमाडौं – नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन घटेर बन्द भएको छ। मौद्रिक नीतिमार्फत गरिएको शेयर कर्जाको जोखिम भार ५० लाख सम्मको लागि मात्र शतप्रतिशत भएको व्यवस्था गरेको समाचारपछि घट्न थालेको बजारले यस दिन पनि सो क्रमलाई निरन्तरता दिएको हो।
बुधबार नेप्से परिसूचक ८.११ अंक घटेर २१५६.२० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.०५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब ३ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २६० स्टकको ४२ हजार ७१४ पटकको कारोबारमा २ अर्ब ४३ करोड २५ लाख रुपैयाँ बराबरको ७३ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
पछिल्ला तीन कारोबार दिनमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको किसान लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ६.९६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ। किसान लघुवित्तसँगै मर्ज हुन लागेको जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य भने यस दिन सर्वाधिक ६.४९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन युनिलिभर नेपालको शेयरमूल्य ६.३३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ग्लोबल आइएमई बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १५ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको करिब साढे ९ करोडको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.४२ प्रतिशत घटेको छ।