हजार बढि कोरोना संक्रमित भेटिएपछि सीसीएमसीको आकस्मिक बैंठक, के–के भए निर्णय ?

काठमाडौँ – कोरोना संक्रमित बढेसँगै सरकारले पनि चासो देखाएको छ । कोरोना संक्रमितको संख्या बढेपछि कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैंठक बसेको छ । बैंठकमा आगामी रणनीतिको विषयमा छलफल भएको छ ।

मंगलबार मात्रै १ हजार १६ जनामा संक्रमण देखिएपछि आकस्मिक रुपमा बसेको सीसीएमसी बैठकले आगामी रणनीतिको विषयमा छलफल गरेको हो ।

उपत्यका लगायत देशभरी नै संक्रमणको दर बढेपछि आगामी रणनीति के हुने भन्ने विषयमा छलफल भएको एक मन्त्रीले बताए । तर बैंठकमा ठोस निर्णय भने नभएको उनको भनाई छ ।

बैठकमा विगतमा सरकारले गरेका निर्णय र ती निर्णयहरुको प्रभावकारिताका विषयमा छलफल भएको थियो । संक्रमणको दर बढ्दै गएपनि आगामी रणनीति के हुने भन्ने विषयमा फरक फरक धारणा आएकाले बुधबार पुनः बैठक बसी थप छलफल गरिने बताइएको छ ।