निर्धारित लक्ष्य प्राप्त हुने गरी काम गर्न आन्तरिक राजस्व कार्यालयका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौैैैैैैं – राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन् । आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणका क्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री महतले यस्तो आग्रह गरेको बताएका छन् ।
नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजश्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न मन्त्री महतको अनुरोध गरेका थिए । विविध कारणले गत वर्ष लक्ष्य भेट्न सकिएन । यसपाली पनि त्यस्तै हो भन्न पाइँदैन, मन्त्री महतले भने,विस्तारै अर्थतन्त्र गतिशील हुँदैछ, सँगैसँगै करको दायरा हामीले फराकिलो बनाएका छौं ।
मूल्य अभिवृद्धि कर (भ्याट) विस्तारै हट्दै गएको र त्यसले राजश्व संकलनमा असर पुगेकोले भ्याटलाई पुनः प्रवेश गराएको जानकारी दिँदै मन्त्री महतले भने,नयाँ मूल्य अभिवृद्धि कर कसरी लागू गर्ने भन्ने बारेमा तपाईंहरु पूर्णरुपमा प्रशिक्षित हुनुपर्छ । ट्राभल्समा लाग्ने करको उदाहरण दिँदै मन्त्रीले भने, ट्राभल्समा लाग्ने कर एयरलाइन्सले नै तिर्ने हो । त्यसको रेकर्ड आन्तरिक राजश्व कार्यालय पनि राख्नुपर्छ ।
स्याउ, आलु र प्याजमा पनि लागेको कर भन्सारमा मात्र लाग्ने भन्दै मन्त्री महतले भ्याट लागेको स्टोरबाट सामान बिक्री हुन्छ भने त्यहाँ उसले भ्याट जोड्नुपर्ने बताए । बाहिरबाट आएको छ भने भन्सार मानै लाग्छ, आन्तरिक उत्पादनमा लाग्दैन, उनले थपेका छन् ।
नयाँ क्षेत्रमा कर प्रस्ताव गरिएको छ, त्यसलाई राम्रोसँग अध्ययन गर्न मन्त्री महतले आग्रह गरे, हामीले निर्धारण गरेको लक्ष्य प्राप्त हुनुपर्छ । पहिले के हुन्थ्यो थाहा छैन, अहिले कामकै आधारमा मात्रै मूल्यांकन हुन्छ ।