घरकर्जामा लचक बन्दै राष्ट्र बैंक, शेयर बजारलाई खुकुलो बनाउने मौद्रिक नीति आउने

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजानिक गर्ने भएको छ। केन्द्रिय बैंकले मौद्रिक नीति पारित गर्नको लागि आइतबार बिहानै सञ्चालक समितिको बैठक डाकेको थियो।
सञ्चालक समितिबाट नीति पारित भएपछि आइतबार नै मौद्रिक नीति सार्वजानिक गर्न लागेको जनाएको छ । यस पटकको मौद्रिक नीतिमा केन्द्रिय बैंकले शेयर बजार र घरजग्ग क्षेत्रको लागि पनि केहि नीति लिने भएको छ। कोभिडपछि कडाई गरीएका क्षेत्रमा केन्द्रिय बैंकले केहि लचक नीति लिने भएको हो।
अहिले निर्माण क्षेत्रमा आएको मन्दी हटाउन पनि केन्द्रिय बैंकले घर कर्जामा केहि लचक नीति लिन लागेको केन्द्रिय बैंकका अधिकारीहरु बताउछन्। केन्द्रिय बैंकले घरजग्गा कर्जाको लोन टु भ्यालु रेशियो बढाउने भएको छ। यसले गर्दा घर कर्जा बढ्नेछ। घरकर्जा बढ्दा निर्माण क्षेत्रका कम्पनीहरुको समेत व्यापार बढ्ने मात्र नभइ समग्र अर्थतन्त्रलाई नै चलायमान बनाउने केन्द्रिय बैंकको ठम्याई छ।
यसैगरी, केन्द्रिय बैंकले यस वर्ष शेयर बजारलाई पनि कडाई नगरी नीति ल्याउने भएको छ। यसअघि केन्द्रिय बैंकले लिएका नीतिले शेयर बजारमा ठुलो प्रभाव पारेको थियो। यस वर्ष भने शेयर बजारमा समेत केहि लचक नीति लिने संकेत केन्द्रिय बैंकको छ।
नेपाल राष्ट्र बैंकले यसअघि बढाइएका केहि क्षेत्रको कर्जाको जोखिम भार समेत घटाउने भएको छ। नेपाल राष्ट्र बैंकले गरेको कडाइले बाह्य क्षेत्र भर्खरै मात्रै सहज अवस्थामा आएकोले अहिले बाह्य क्षेत्रलाई समेत ध्यानमा राखेर नीति तर्जुमा गरीने भएको छ। केन्द्रिय बैंकले बाह्य क्षेत्रको सन्तुलन नबिग्रने गरी नीति तर्जुमा गर्दैछ।
यसअघि धेरै लचक नीति लिँदा त्यसले बाह्य क्षेत्रमा दबाव परेको भन्दै यस वर्ष केन्द्रिय बैंक धेरै लचक नीति नलिने भएको छ। केन्द्रिय बैंकले कर्जा विस्तारको लक्ष्यलाई समेत नबढाउने बुझिएको छ। गत वर्ष १२.६ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएकोमा ४ प्रतिशतभन्दा कम कर्जा प्रवाह भएको छ। चालु आर्थिक वर्षमा पनि केन्द्रिय बैंकले कर्जा विस्तारको लक्ष्यलाई १२ प्रतिशतभन्दा तल राख्ने भएको छ। नेपाल राष्ट्र बैंकले उत्पादनमुलक क्षेत्रमा कर्जा लगानी बढाउनेगरी नीति ल्याउने भएको छ।
यस्तै, केन्द्रिय बैंकले बैंकदर र नीतिगत दरलाई भने केहि घटाउने जनाएको छ। अहिले बैंकदर साढे ७ प्रतिशत छ भने नीतिगत दर ७ प्रतिशत छ। तरलता सहज भएको अवस्थामा यस्तो दरलाई केहि घटाउने तयारी राष्ट्र बैंकको रहेको छ।