४ दिनको वृद्धिपछि सामान्य अंकमा घट्यो नेप्से

काठमाडौं – साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य अंक घटेको छ। पछिल्ला ४ कारोबार दिनदेखि निरन्तर बढेको बजारमा यस दिन सामान्य अंक घटेको हो। पछिल्ला ४ कारोबार दिनमा ८०.३१ अंक बढेको नेप्से, यस दिन १.३१ अंक घटेर २१६३.९२ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२० अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ३४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६४ स्टकको ५४ हजार ९५४ पटकको कारोबारमा ३ अर्ब ५ करोड २४ लाख १० हजार रुपैयाँ बराबरको ८४ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से घटेपनि यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विशाल बजार कम्पनी र लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सिटिजन्स म्युचुअल फण्ड २ र कुमारी इक्विटी फण्डको इकाई नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सोल्टी होटलको ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हिमालयन इन्स्योरेन्सको करिब ९ करोडको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.३५ प्रतिशत बढेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन १३९ प्रतिशत बढेको छ। कारोबारमा आएका म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।