नेप्सेलाई बैंकिङ्ग र व्यापार उपसमूहको टेवा

काठमाडौं – बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।
यस दिन नेप्सेको वृद्धिलाई बैंकिङ्ग र व्यापार उपसमूहको परिसूचकले टेवा दिएको छ। यस दिन १३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.८३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक २.३१ प्रतिशत बढेको छ। यी दुई उपसमूहका परिसूचक उच्च दरमा बढेसँगै यस दिन नेप्से सकारात्मक भइ बन्द भएको हो। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.९६ प्रतिशत घटेको छ।
बुधबार नेप्से परिसूचक ११.१७ अंक बढेर २१६५.२४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.३३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३९ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन साढे ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६० स्टकको ५१ हाजर ४४५ पटकको कारोबारमा ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार रुपैयाँ बराबरको ८६ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
पछिल्ला दुई कारोबार दिनदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भएको बिपिडब्लु लघुवित्तको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कम्पनीको शेयरमूल्य १३५ रुपैयाँ ५० पैसा बढेर १ हजार ४९० रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ।
त्यसैगरी, यस दिन विशाल बजार कम्पनीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने युनाइटेड अजोड इन्स्योरेन्स र बोटलर्स नेपाल तराईको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन एनआईबिएल समृद्धि फण्ड २ को इकाईमूल्य सर्वाधिक ९.६४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन युनाइटेड अजोड इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ५७ लाख ४५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, एनआईसी एशियाको यस दिन करिब १५ करोडको शेयर कारोबार भएको छ।