भाइरल फोटो पछाडिको अन्तरकथा, ‘जसले मानवियता देखाए, उनैको विरोध’, को हुन कपाल खौरिने मुस्लिम ?

वीरगञ्ज – सामाजिक सञ्जालमा भाइरल भएको एउटा तस्वीरलाई लिएर अहिले विभिन्न खालका टिकाटिप्पणी भइरहेका छन । नेपाल परापूर्वकालदेखि विभिन्न जातजाती, भाषा, धर्म र संस्कृतिमा मानिसहरु मिलेर बस्दै आइरहेका छन । कहिलले काँही उक धर्मको मानिसले अर्को धमको मानिसलाई सहयोग गरिरहेका विषयहरमा चर्चा हुने गरेका छन ।

यसैक्रममा वीरगञ्जमा एउटा यस्तै सामाजिक सद्भाव झल्किने घटना घटेको छ । सामाजिक संजालमा भाइरल तस्वीरको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा भएको एक घटनाको हो । जुन मर्मस्पर्शी छ ।

शिवनगरका बासिन्दा ५६ वर्षीय लालबाबु कलवारको शनिबार वीरगञ्जस्थित वयोधा अस्पतालमा मृत्यु भएको थियो।

कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका कलवारको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि परिवारले वीरगञ्जका अधिकांश अस्पताल पुर्‍याएका थिए। मधुमेहलगायत रोगबाट पीडित उनको उपचार सम्भव भएन, मृत्यु भयो।

‘मृत्यु भएकै दिन बिहान ठूलोबुवाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो,’ मृतकका आफन्त सन्देश जैसवालले भने, ‘उहाँका कान्छा छोरासहित हामी आठ जना शव लिएर अन्त्येष्टिका लागि घाट पुगेका थियौं।’

सन्देशले दिएको जानकारीअनुसार मृतकका जेठा छोरा पनि कोरोना संक्रमित छन्। आइसोलेसनमा रहेका उनी बुवाको अन्तिम संस्कारका बेला घाटमा जान पाएनन्।

वीरगञ्जमा कोरोना संक्रमण फैलिरहेको र प्रशासनले नेपाली सेनासमेत परिचालन गरी निषेधाज्ञालाई कडाइ गरेकोले आफूहरूले धेरै आफन्त र छिमेकीलाई घटनाबारे जानकारी नदिएको सन्देशले जानकारी दिए।

‘कोरोना त्रासका बेला धेरैलाई खबर गरिएको थिएन। नजिकका आफन्तहरू आठ जना थियौं,’ उनले भने, ‘हामी घाटमा पुगेको केही समयपछि वडाध्यक्षलगायत अरू दाजुभाइहरू पनि आउनुभएको थियो।’ मृतकका कान्छा छोराको कपाल खौरिन ढिलो भएको थियो।

‘यत्तिकैमा एक जना दाइले (जो मुस्लिम हुनुहुन्छ) मैले कपाल खौरिदिन मिल्छ भनेर सोध्नुभयो। हात छिटो चल्ने भएकाले काम पनि छिटो हुने भएपछि हामीले हुन्छ भन्यौं,’ सन्देशले भने, ‘उहाँले कपाल खौरिएका बेलाको फोटो नै सामाजिक सञ्जालमा भाइरल बनाइएको हो। आफन्त र गाउँलेहरू आएनन् मुस्लिमले अन्तिम संस्कार गरिदिए भन्ने हिसाबले गरिएको प्रचारमा सत्यता छैन।’ यो धर्मभन्दा पनि मानवीयताको कुरा भएको उनले बताए।

‘हामीलाई दुःख परेका बेला वडाध्यक्षसहित मुस्लिम दाइभाइहरूले गर्नुभएको सहयोगका लागि हामी कृतज्ञ छौं,’ उनले भने, ‘मलामी जानुभएका सबै मुस्लिम दाजुभाइलाई धन्यवाद दिन चाहन्छौं।’

‘हिजोदेखि मेरो ठूलोबुवाको अन्तिम काजको बेला मुस्लिम समुदायका दाजुले कपाल काटिदिनु भएको एउटा फोटो खुब भाइरल भइरहेको छ। राम्रो कार्यको सबैले सह्राना गर्नैपर्छ। भाइरल हुनु पनि जरूरी छ। यसले समाजमा सकरात्मक सन्देश पनि दिन्छ,’ उनले भने, ‘तर जुन कुरा भाइरल भइरहेको छ त्यसको भने हामीले सत्यतथ्य बुझ्न जरूरी हुन्छ। फोटोमा देखाइएको मुस्लिम समुदायका दाजुले कपाल काटिदिएकै हो यसकारण हामीले उहाँको प्रशंसा गर्नुपर्छ। हिन्दु परम्पराअनुसार ठाकुर (हजाम) ले कपाल मुण्डन गर्ने चलन छ। र ठाकुर नभएको खण्डमा अन्यले मुण्डन गरिदिए पनि हुन्छ। यहीअनुसार उहाँको हात छिटो चल्ने भएकोले सहयोग लिइएको हो।’

मृतकका परिवारका सदस्य, बहिनीज्वाइँ, दुई जना भदाभाइ, मृतकका कान्छा छोरा गरी आठ जना आफन्त दाहसंस्कारका लागि घाटमा पुगेको उनले बताए। मृतक कलवारलाई १५ दिनअघि कोरोना देखिएको थियो। उनी वीरगञ्जका स्थानीय व्यापारी हुन्।

‘ठूलोबुवा मधुमेह र मुटुको रोगी हुनुहुन्थ्यो। हामीले अस्पताल भर्ना गर्दा उहाँलाई कोरोनाको मात्रै उपचार गरिएछ। त्यसले गर्दा झन् उहाँमा समस्या थपिँदै गयो,’ उनले भने, ‘अस्पतालले थप उपचारलाई काठमाडौं लैजान भने पनि राति हेलिकप्टर बोलाउन सम्भव नभएर लैजान सकिएन। उहाँमा निमोनिया पनि देखिएर सास फेर्न गाह्रो भइरहेको थियो।’

वीरगञ्जका कुनै पनि अस्पतालमा आइसियु खाली नभएकोले उपचारमा पनि समस्या भएको उनले बताए।

‘त्यही दिन कोरोना नेगेटिभ आएकोले पनि हुनुपर्छ वीरगञ्जका अस्पतालले उहाँलाई भर्ना लिन मानेनन्,’ उनले भने, ‘बिएचसी अस्पतालबाट वयोधा अस्पतालमा बल्लबल्ल सार्‍यौं तर उहाँको उपचार सम्भव भएन। भेन्टिलेटर पनि खालि रहेनछ।’

भर्खरै कोरोना नेगेटिभ आएकोले त्रासले पनि गाउँलेहरू भने धेरै संख्यामा मलामी नआएको हुनसक्ने उनले अनुमान गरे। ‘समाज र आफन्तलाई बदनाम गर्ने गरी प्रचार गरिनु हुन्न,’ उनले भने।

दाहसंस्कारमा समन्वयको काम गरेका वीरगञ्ज महानगर १३ का वडाध्यक्ष तुफान फारूक अन्सारीले कलवारको निधनको खबरसँगै आफू घाटमा पुगेको जानकारी दिए।