शेयर बजार घट्न रोकिएको सङ्केत, कारोबार रकम सँगै पूँजीगत लाभकर घट्यो, यस्तो रह्यो गत बर्षको शेयर कारोबार

काठमाडौं – गत आर्थिक वर्ष शेयर बजारमा हुने कारोबार उल्लेख्य घटेको छ। कारोबार घटे सँगै कारोबार रकममा त्यसको प्रत्यक्ष असर देखिएको छ। गत वर्ष ४१ प्रतिशतले कारोबार घटेको हो । गत वर्ष ८६ लाख ४४ हजार कारोबार भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ४१.२४ प्रतिशत कम हो। जबकि आर्थिक वर्ष २०७८/७९ मा एक करोड ४७ लाख कारोबार भएका थिएका थिए ।

कारोबार कम भए सँगै कारोबार रकममा त्यसको प्रत्यक्ष असर देखिएको छ। गत वर्ष चार खर्ब ६७ अर्ब रुपैयाँ बराबरका शेयर खरिद बिक्री भएका हुन् । जुन अघिल्लो वर्ष भन्दा ६१.१४ प्रतिशत कम हो। अघिल्लो वर्ष १२ खर्ब रुपैयाँ बराबरका शेयर किन/बेच भएका थिए।

गत वर्ष शेयर कारोबार नै कम भएको कारण कारोबार रकम घटेको हो। गत वर्ष एक अर्ब २७ करोड कित्ता मात्रै शेयर किन बेच भए। जबकि अघिल्लो वर्ष सोही अवधिमा दुई अर्ब ४९ करोड कित्ता शेयर खरिदरबिक्री भएका थिए। जुन अघिल्लो वर्ष भन्दा ४८.७५ प्रतिशत कम हो।

गत वर्ष शेयर लगानीकर्ताको लागि सुखद रहेन। गत वर्ष भरिनै सूचक तल्लो बिन्दुमा रहँदा त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा रह्यो। सूचक कै आधारमा पनि गत वर्ष दुई महिना मात्रै सूचक बढेको देखिएको छ। असार र माघ महिना मात्रै शेयर बजार बढ्दो क्रममा देखिएको थियो। त्यस बाहेक सबै महिना सूचक तल्लो बिन्दुमै रहन पुग्यो। खासगरि शेयर बजार तल्लो बिन्दुमा रहँदा कारोबार घट्ने गर्छ। किनकि तल्लो बिन्दुमै रहँदा लगानीकर्ताले नाफा कमाउने सम्भावना निक्कै कम रहन्छ। जसले गर्दा पनि कारोबार सँगै कारोबार कित्ता र कारोबार रकम घट्न पुगेका हुन्।

कारोबार रकम घट्दै गर्दा गत वर्ष शेयर बजार बाट उठ्ने पूँजीगत लाभकरमा समेत उल्लेख्य धक्का लागेको छ। गत वर्ष भन्दा पूँजीगत लाभकर ७१.३१ प्रतिशतले घटेको छ। गत वर्ष सरकारले दुई अर्ब ९७ करोड रुपैयाँ पूँजीगत लाभकर प्राप्त गरेको छ। जबकि गत वर्ष सोही अवधिमा १० अर्ब ३५ करोड रुपैयाँ सरकारले प्राप्त गरेको थियो। जुन अघिल्लो वर्ष भन्दा ७१.३१ प्रतिशत कम हो।

पूँजीगत लाभकर सङ्कलनलाई आधार मान्दा अघिल्लो वर्ष भन्दा यस वर्ष बजारमा दुवै दालले लगानीकर्ताको सहभागिता बराबरी जस्तै देखिएको छ। गत वर्ष अल्पकालीन लगीकर्ताले कमाएको नाफाबाट सरकारले एक अर्ब ७६ करोड रुपैयाँ पूँजीगत लाभकर सङ्कलन गर्‍यो।

त्यसैगरि दीर्घकालीन लगानीकर्ताबाट एक अर्ब २० करोड रुपैयाँ उठाएको सिडिएससिले जनाएको छ। तर अघिल्लो वर्ष सोही अवधिमा अल्पकालीन लगानीकर्ता शेयर बजारमा बढी हाबी भएका थिए। अघिल्लो वर्ष दीर्घकालीन लगानीकर्ताबाट तीन अर्ब २३ करोड उठाउँदा अल्पकालीन लगानीकर्ताबाट सात अर्ब २२ करोड रुपैयाँ उठेको थियो।

गत वर्ष शेयर बजारमा अल्पकालीन र दीर्घकालीन लगानीकर्ताले कमाउने नाफा बराबरी जस्तै देखिएकोले पनि शेयर बजार घट्ने क्रम रोकिने सङ्केतको रुपमा लिनु पर्ने हुन्छ। अल्पकालीन लगानीकर्ताले उल्लेख्य नाफा कमाएको वर्ष शेयर बजारले उचाइ लिने गर्छ। गत वर्ष धेरै जसो लगानीकर्ताले शेयर बजारमा लगानी गरेको वर्षको रुपमा लिनु पर्ने देखिन्छ।

किनकि अघिल्लो वर्षको तुलनामा सूचक ४.३६ प्रतिशतले बढेको छ। सूचक सँगै गत वर्ष लगानीकर्ताको सम्पत्ति सङ्केत बढेको छ। गत वर्ष कुल बजार पूँजीकरण बढेर ३० खर्ब ८२ अर्ब पुगेको छ। जबकि अघिल्लो वर्ष सोही अवधिमा २८ खर्ब ६९ अर्ब रुपैयाँ मात्रै रहेको थियो। जुन ७.४३ प्रतिशतको वृद्धि हो। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको सङ्ख्या बढेको कारण पनि कुल बजार पूँजीकरण बढ्न टेवा मिलेको हो।