विदेशीको प्रलोभनमा परेर २१ वर्षका युवक बने क्रिप्टो कारोबारी, २५ करोड ७६ लाख भन्दा बढीको कारोबार

काठमाडौं – प्रहरीले २५ करोड ७६ लाख रुपैयाँ भन्दा बढिको क्रिप्टोकरेन्सीको कारोबार गरिएको एक युवकको मोबाइल भेटाएको छ । २१ वर्षका अश्विन भुसालका २ मोबाइलहरूमा भारी मात्रामा क्रिप्टो कारोबार भएको पाइएको हो ।

अर्घाखाँचीस्थित भूमिकास्थान नगरपालिका घर भएका अश्विन काठमाडौं बस्दै आएका छन् । अश्विनले क्रिप्टो बाइनान्सको २ आईडीबाट २५ करोड ७६ लाख ५४ हजार ६९८ रूपैयाँ बराबरको क्रिप्टो गरेको फेला पारेको हो । उनले एक आईडीबाट २ करोड २४ लाख ९९ हजार ९०० र अर्को आईडीबाट २३ करोड ५१ लाख ५४ हजार ७९८ नेपाली रूपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको भेटिएको हो।

अश्विनबाट आईफोन र वान प्लस मोबाइल फोन प्रहरीले पाएको थियो । युट्युब हेरेर नै मोबाइलमा क्रिप्टो कारोबारको एप डाउनलोड गर्न सिकेको उनको भनाइ छ । एक विदेशीको आग्रहमा आफूले बाइनान्सको एप्लिकेसन इन्स्टल गरेको उनले बताएका छन् । विदेशीले दिने केहि रकमको प्रलोभनमा पर्दै आईडी प्रयोग गर्न दिएको खुलाएका छन् ।

अश्विनले रिचर्ड नाम गरेका एक विदेशीले आफूलाई बाइनान्स आईडी बनाइदिएको र उनैले क्रिप्टो कारोबार गरिरहेको पनि बताएका छन् । रिचर्डले अश्विनको बाइनान्स आईडी प्रयोग गरिरहेका थिए । जसबापत अश्विनले इसेवा र बैंक खातामा २० हजार रूपैयाँसम्म पाएको बताएका छन् । काठमाडौं जिल्ला अदालतमा अश्विनमाथि बिगो जफत, बिगोको तीन गुणासम्म जरिवाना अथवा ७ वर्षसम्म कैद सजायको माग गर्दै मुद्दा चलाइएको छ ।