एसईईको नतिजा सार्वजनिक

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षाफल प्रकाशित भएको छ । देशभर एसईईका ४ लाख ८२ हजार २१९ विद्यार्थीको नतिजा सार्वजनिक गरिएको हो ।
गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको छ । मूल्यांकन फरक भए पनि गतवर्ष जसरी नतिजा सार्वजनिक हुने बोर्ड स्रोतले जानकारी दिएको छ ।
एक हप्ता पहिला नै सम्पूर्ण तयारी सकिए पनि नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको थियो ।
विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो ।
नतिजा विभिन्न खालका वेवसाइटहरुबाट हेर्न सकिने छ ।