बीमा कम्पनीहरुले चार वर्ष भित्र जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने

काठमाडौं – आज सोमबारदेखि चालु आर्थिक वर्ष २०८०/८१ को शुरु भएको छ । नयाँ आर्थिक वर्ष लागू भएसँगै बीमा कम्पनीहरुको लागि जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी सम्बन्धी निर्देशिका २०७८ पनि लागू भएको छ ।
उक्त निर्देशिका अनुसार चालु आर्थिक वर्षदेखि जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई जोखिममा आधारित पूँजी कायम गर्नुपर्नेछ । आर्थिक वर्ष २०८०/८१ देखि २०८४/८५ भित्र जोखिममा आधारित पूँजी कायम गर्नु पर्ने प्राधिकरणले जारी गरेको निर्देशिकामा उल्लेख छ ।
निर्देशिका अनुसार जोखिममा आधारित पूँजी अपुग भए वा सोल्भेन्सी अनुपात न्यून भएमा बीमा कम्पनीहले आगामी चार वर्षभित्र यसलाई सुधार गरेर जोखिममा आधारित पूँजी वा सोल्भेन्सी अनुपात कायम गर्नु पर्ने छ ।
प्राधिकरणले जीवन बीमा कम्पनीको लागि ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको लागि २ अर्ब ५० करोड रुपैयाँ न्युनतम चुक्ता पूँजी तोकिएको छ । न्युनतम चुक्ता पूँजी तोकिएका भएपनि निर्देशिका अनुसार कम्पनीले क्षमताको आधारमा चुक्ता पूँजी कायम गर्नुपर्ने छ । त्यस अनुसार जोखिमको आधारमा बीमा कम्पनीहरुको पूँजी कम्पनी अनुसार फरक पर्ने छ ।
प्राधिकरणले बीमाको दायरा विस्तार हुँदै गर्दा जोखिम बढेको तर बीमा कम्पनीहरुको पूँजी भने न्युन रहेको भन्दै जोखिममा आधारित पूँजी कायम गर्न निर्देशिका जारी गरेको हो ।