आतंकवाद जोखिम समूहको व्यवसाय नेपाल पुनर्बीमालाई नै उपलब्ध गराउन बीमा प्राधिकरणको निर्देशन

काठमाडौं – नेपाल बीमा प्राधिकरणले आतंकवाद जोखिम समूह (RSMDST) को व्यवसाय नेपाल पुनर्बीमा कम्पनी (NRIC) लाई नै उपलब्ध गराउन निर्देशन दिएको छ । असार २९ गते निर्जीवन बीमा कम्पनीहरुलाई पत्र जारी गर्दै उक्त निर्देशन दिएको हो ।

निर्जीवन बीमकहरूको जोखिम समूहको दाबी व्यहोर्ने, पुनर्बिमाको व्यवस्था गर्न तथा सोसँग सम्बन्धित अन्य बीमा जोखिमहरूको भुक्तानी गर्ने काम २०६० असोज ३० मा सरकारले जारी गरेको आकस्मिक बीमा कोषले गर्दै आएको थियो ।

२०७१ साउन २२ गतेको सरकारको निणर्य अनुसार कोषले कोषको हक, अधिकार, सम्पत्ति तथा दायित्व नेपाल पुनर्बिमा कम्पनीमा सर्ने व्यवस्था गरिएको थियो । तर प्राधिकरणले सो व्यवस्था विपरीत निजीस्तरबाट संञ्चालन भएको हिमालयन पुनर्बिमा कम्पनीलाई पनि भाग लगाउन निर्देशन दिएको थियो ।

सरकारको निणर्यलाई प्राधिकरणले उल्लंघन गर्न नमिल्ने भन्दै नेपाल पुनर्बीमा कम्पनीले लबिङ गर्दै आएको थियो । सरकारले उक्त निर्णयलाई खारेज गर्दै पुनः निर्जीवन बीमा कम्पनीहरुको जोखिम समूह अन्तरगतको पुल व्यसाय यथावत रुपमा नेपाल पुनर्बीमा कम्पनीलाई उपलब्ध गराउन प्राधिकरणले निर्देशन दिएको हो ।