जनतालाई कुलमानको अर्को उपहार, विद्युत महशुल घट्यो (घटेको मूल्यसहित)

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल घटाएको छ । प्राधिकरणको ३५ औं बार्षिकोत्सवको अवसरमा विद्युत महशुलमा भारी छुट दिएको हो ।
विद्युत प्राधिकरणले सोमबारबाट नयाँ बिलिङ प्रणाली जारी गरेर विभिन्न खालका प्याकेजहरुमा छुट दिएको हो । विद्युत नियमन आयोगले समायोजन गरे अनुसार नयाँ महसुल दर कायम गर्दै प्राधिकरणले सोमबारदेखि बिलिङ सिस्टम अपग्रेड गरेको हो।
पहिले प्रतियुनिट ३ रुपैयाँदेखि अधिकतम १४ रुपैयाँसम्म महसुल लाग्ने गरेकोमा अब भने १० युनिटसम्मको बिद्युत खपतको महशुल छुट दिइएको छ ।
नयाँ महसुल दर अनुसार १५० युनिटसम्म मात्रै खपत गर्ने ग्राहकले २५ प्रतिशत छुटसहितको बिल पाउने छन् भने २५० युनिटसम्म खपत गर्नेले १५ प्रतिशत छुट पछिको बिल पाउने छन्।
१० युनिटमात्रै खपत गर्ने ग्राहकलाई इनर्जी शुल्क पुरै छुट भए पनि ११ युनिट खपत गरेमा भने प्रतियुनिट ३ रुपैयाँका दरले ११ युनिटकै मूल्य तिर्नु पर्नेछ।
० युनिटभित्र खपत गर्ने ग्राहकले डिमाण्ड शुल्क ३० रुपैयाँमात्रै तिरे पुग्नेछ। तर ११ युनिट खपत भएमा भने ११ युनिटकै ३ रुपैयाँका दरले थप ३३ रुपैयाँ महसुल तिर्नुपर्ने हुन्छ। तर १५० युनिटसम्मको खपतमा २५ प्रतिशत छुट पाउने भएकाले उपभोक्ताले ११ युनिटको २५ रुपैयाँ र डिमाण्ड शुल्क ३० रुपैयाँ गरि ५५ रुपैयाँ तिर्नु पर्नेछ।
खपत अनुसार लाग्ने महसुल दरमा १५० युनिट खपत गर्दा १३ सय ४० रुपैयाँ महसुल लाग्छ। यसमध्ये डिमान्ड शुल्कबाहेकको १२४० रुपैयाँ महसुलमा २५ प्रतिशत छुट पाउने छन्।
त्यस्तै २५० युनिटसम्म खपत गर्ने ग्राहकले १५१ युनिटदेखि २५० युनिटसम्म प्रति युनिट १० रुपैयाँका दरले थप एक हजारसहित २२ सय ४० रुपैयाँ महसुल तिर्नुपर्छ। जस अनुसार २२ सय ४० रुपैयाँको १५ प्रतिशत छुटपछि १९ सय ४ रुपैयाँ महसुल र १२५ रुपैयाँ डिमाण्ड शुल्क गरि २ हजार २९ रुपैयाँ मात्रै महसुल तिर्नु पर्नेछ।
प्राधिकरणका अनुसार महशुल समायोजन गर्दा १५ प्रतिशतसम्म महशुल सस्तो भएको छ। साउन ५ गतेपछि आउने बिलिङमा नयाँ दरले बिलिङ हुने प्राधिकरणले जनाएको छ ।
सरकारले बजेटमार्फत घोषणा गरेको १५० युनिट र २५० युनिटसम्मको महशुलमा क्रमशः २५ र १५ प्रतिशत छुट घोषणा गरेको दर चालु आर्थिक वर्षको सुरुवातसँगै लागू गर्नुपर्ने भएकाले प्राधिकरणले साउन १ गतेदेखिनै बिलिङ प्रणाली अपग्रेडको काम सुरु गरेको थियो।
आइतबार सिस्टम अपग्रेडको काम सकिएकाले सोमबारदेखि भुक्तानी हुने बिलमा नयाँ दर कायम गरिएको विद्युत प्राधिकरणले जनाएको छ ।