नेप्सेले समयमा पैसा नतिरेको भन्दै पाँच ब्रोकर कम्पनीको टिएमएस बन्द गर्यो,आइतबार कारोबार होला तँ ?

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले समयमा शुल्क नतिरेको भन्दै पाँच ब्रोकर कम्पनीको ट्रेड म्यानेजमेन्ट सिस्टम(टिएमएस) बन्द गर्ने निर्णय गरेको छ। आज बसेको व्यवस्थापन बैठकले टिएमएस बन्द गर्ने निर्णय गरेको हो।
नेप्सले ब्रोकर नम्बर ४, ब्रोकर नम्बर ५७, ब्रोकर नम्बर ३७, ब्रोकर नम्बर ४३ र ब्रोकर नम्बर ४४ को टिएमएस बन्द गर्ने निर्णय गरेको हो। त्यसरी बन्द गरे पश्चात कारोबार सदस्यले पुन: जडान शुल्क तिरेर मात्रै कारोबार गर्न पाउने छन्। जसको लागि ब्रोकर कम्पनीले ५० हजार रुपैयाँ तिर्नु पर्ने छ। शुक्रबार टिएएमएस बन्द गर्ने निर्णय गरेकोले ब्रोकर कम्पनीसँग आइतबार सम्म शुल्क तिर्ने समय भने रहने छ। उपरोक्त ब्रोकरहरू मध्ये ३७ नम्वर ब्रोकरले सो शुल्क बुझाइसकेको जानकारी दिएको छ ।
धितोपत्र कारोबार सन्चालन(तेस्रो संशोधन)विनियमावली २०७९ कफ विनियम २१ को (च)मा निवेदन दस्तुर तथा शुल्क सम्बन्धि व्यवस्था छ। सो व्यवस्थाको (३)मा कारोबार सदस्यले कारोबार व्यवस्थापन प्रणाली संचालन भएपछि नेप्सेलाई अनुसुचि २ ग बमोजिम मासिक प्रविधिक सेवा शुल्क बुझाउनु पर्ने भनिएको छ। उक्त शुल्क त्रैमासिकका साथै अर्धबार्षिक वा बार्षिक बुझाउन सकिने व्यवस्था बिनियमावलीमा छ।
त्रैमासिक शुल्क बुझाउँदा प्रत्येक त्रैमासिक अबधिको पहिलो महिनाको सात गते भित्र बुझाउनु पर्ने उल्लेख छ। सोही शुल्क पाँच कम्पनीले नबुझाएका हुन्। उनीहरुले गत चैत मै उक्त शुल्क बुझाउनु पर्ने थियो।
जुन असार समाप्त हुनै लाग्दा समेत नबुझाएका कारण उनीहरुको टिएमएस बन्द गर्ने निर्णयमा नेप्से पुगेको बताइएको छ। समयमा नबुझाउनेलाई के गर्ने भन्ने बिषयका बारेमा समेत विनियमावलीमा व्यवस्था छ। “उल्लेखित अवधिभित्र शुल्क नबुझाएमा सो महिना भित्रको लागि थप एक हजार रुपैयाँ शुल्क लाग्ने छ।
यस्तो एक महिना भित्रको अवधिमा पनि मासिक प्राविधिक सेवा शुल्क नबुझाएमा नेप्सेले जुनसुकै बखत कारोबार सदस्यको कारोबार व्यवस्थापन प्रणाली बन्द गर्न सक्ने छ” विनयमावलीमा उल्लेख छ।