अबदेखि अटो वर्कसपहरु पनि बन्द गरिने

काठमाडौं – अबदेखि आफ्नो सवारी साधनमा समस्या आएमा बनाउन नपाइने भएको । सवारी साधन मर्मत सम्भार गर्ने व्यवसाय अटो वर्कसपहरु भदौ १५ गतेसम्म बन्द हुने भएपछि समस्या आउने भएको हो ।
कोरोना संक्रमण फैलिँदै गएको अवस्थामा अटो वर्कसपहरु पनि असुरक्षित देखिएको भन्दै नेपाल अटोमेकानिक्स व्यवसायी संघले सोमबारदेखि भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।
संघले सोमबार एक अपिल प्रकाशित गरी एम्बुलेन्स, अस्पताल र सुरक्षा निकायका सवारी साधनबाहेक अन्य सवारी साधन मर्मत सम्भारको काम बन्द गरेको जानकारी दिएको छ ।
अत्यावश्यक सेवाका सवारी साधन मर्मत गर्नुपरेमा वर्कसपमा मास्क, पञ्जाको प्रयोग गर्ने, साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गरी सुरक्षित तरिकाले काम गर्न संघले वर्कसप व्यवसायीलाई आग्रह गरेको छ ।