नयाँ स्टक खोल्नेलाई धितोपत्र बोर्डको साथ, नियम विपरीत शेयर कारोबार गर्ने

काठमाडौं – नयाँ स्टक एक्सचेन्ज खोल्न चाहने कम्पनीका प्रमुखलाई नियम विपरीत काम गर्न धितोपत्र बोर्डले सघाएको छ। व्यवसायिक घराना शङ्कर ग्रुपका प्रवन्ध निर्देशक शाहिल अग्रवाललाई नियम विपरीत शेयर बिक्री गर्न बोर्डले सघाएको जनाएको छ।
दुई वर्ष अघि युनियन लाइफ इन्स्योरेन्स कम्पनी नेपाल स्टक एक्सचेन्जमा सूचिकृत थियो। २०७७ असार २४ गते प्राथमिक शेयर निष्कासन गरेको कम्पनीले असार ३१ गते शेयर बाँडफाँट गरेको थियो। कुनै पनि कम्पनीका संस्थापक शेयरधनीले प्राथमिक शेयर निष्कासन भएको तीन वर्षसम्म शेयर बिक्री गर्न पाउँदैनन्।
त्यस हिसाबले युनियन लाइफका संस्थापक शेयरधनीले ३० असार २०८१ पछि मात्रै संस्थापक शेयर बिक्री गर्न पाउँछन्। धितोपत्र दर्ता तथा निष्कासन नियमावली,२०७३ को नियम ३८ मा धितोपत्रको बिक्री गर्न नपाइने भन्ने व्यवस्था छ। उक्त व्यवस्थाको (१०) मा “विवरण पत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्र बाहेक अन्य समूहको धितोपत्र सङ्गठित संस्थाले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन गरेको शेयर बाँडफाँड भएको मितिले तीन वर्षको अवधि पूरा नभई बिक्री गर्न पाइने छैन” भनिएको छ।
सो नियमको स्पष्टीकरण दिँदै नियमावलीले “यस उपनियमको प्रयोजनको लागि “अन्य समूहको धितोपत्र” भन्नाले सङ्गठित संस्थाले विवरण पत्र प्रकाशन गरी सार्वजनिक निष्कासन गरेको तथा सर्वसाधारण समूहमा रहेको धितोपत्र बाहेक संस्थापक वा अन्य समूहले लिएको धितोपत्र र सो धितोपत्रमा प्रदान गरिएको बोनस वा हकप्रद धितोपत्र समेत सम्झनु पर्छ” भनेको छ।
स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै शङ्कर ग्रुपका प्रवन्ध निर्देशक शाहिल अग्रवालले शेयर बिक्री गरेका छन्। उनी युनियन लाइफका संस्थापक शेयरधनी हुन्। पछिल्लो समय युनियन लाइफले प्रकाशित गरेको विवरण अनुसार शाहिल अग्रवालको १९.९३ प्रतिशत शेयर स्वामित्व छ। शाहिलका सहोदर दाजु सुलभ अग्रवालको नाममा १८.०४ प्रतिशत हुन आउने २७ लाख १५ हजार कित्ता संस्थापक शेयर छ। अहिले उनका दाजु हिमालयन लाइफ इन्स्योरेन्समा अध्यक्ष छन्।
अहिले युनियन लाइफ अस्तित्वमा छैन। युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्स मर्ज भएर ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’ बनेको छ। तीन कम्पनी एक बराबर एकमा मर्ज भएका हुन्। तीन कम्पनी मिलेर बनेको हिमालयन लाइफको कारोबार गत वैशाख २६ गते देखि खुला भइसकेको छ।
कारोबार खुले लगत्तै युनियन लाइफमा रहेको शाहिल अग्रवालको नामको संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गरी बिक्री गरेका छन्। उनलाई संस्थापक शेयर बिक्री गर्न धितोपत्र बोर्डले रोक्नुपर्ने थियो। तर त्यही निकायले सर्वसाधारणमा परिवर्तन गर्न सघाएपछि समय नै नभई शाहिल शेयर बिक्री गर्न सफल भएका हुन्।
यस अघि नेपाल स्टक एक्सचेन्जले सिडिएससीलाइ यसै विषयमा कडाइ गर्नु भन्दै निर्देशन नै दिएको थियो। निर्देशन अनुसार लकिङ पिरियडमा रहेको सबै शेयर सिडिएससिमार्फत किनबेच गर्न नपाइने गरी लक हुनुपर्ने थियो। आँफैले दिएको निर्देशन पालना भए, नभएको विषयमा नेप्से समेत चुकेको छ। सिडिएससिले समेत सो विषयमा आँखा चिम्लिंदा शाहिल नियम विपरीत संस्थापक शेयर बिक्री गर्न सफल भएको हो।
अहिले नै यसरी नियम विपरीत कार्य गर्न खप्पिस व्यवसायी नयाँ स्टकको लाइसेन्स लिने लाइनमा समेत बसेका छन्। नयाँ स्टक एक्सचेन्जको रुपमा आउने चाहना राख्दै धितोपत्र बोर्डमा निवेदन दिएका तीन कम्पनी मध्ये हिमालयन स्टक एक्सचेन्जमा शङ्कर ग्रुपको पनि लगानी छ। जबकि सोही ग्रुपका प्रबन्ध निर्देशक नै अनियमित कारोबारमा संलग्न रहेको पाइएको छ।
यस्तो अवस्थामा निजी क्षेत्रलाई नयाँ स्टक एक्सचेन्ज खोल्न दिनुपर्छ भन्ने मान्यता राख्ने बोर्डले निजी क्षेत्रका मानिसले गर्ने कारोबारलाई समेत आँखा चिम्लिदा भविष्यमा उनीहरूले नयाँ स्टक नै खोल्न पाए के गर्लान् भन्ने आशङ्का जन्मिएको छ ।
आउने दिनमा बोर्डले यसलाई कसरी व्याख्या गर्छ त्यो भने हेर्न बाँकी छ। युनियन लाइफलाई अरूसँग मर्ज भएकै आधारमा तीन बर्षे नियम नलाग्ने कित्तामा राखिए उनले उन्मुक्ति पाउने छन्। तर त्यसले अरू कम्पनीहरूलाई समेत प्रभाव पार्ने छ। जुन पूँजी बजारको लागि हितकर हुने छैन।