नियम विपरित खुलेको विद्यालयका ४ शिक्षकमा कोरोना संक्रमण पुष्टि, विद्यार्थीको अवस्था कस्तो ?

हेटौंडा – सरकारको निर्णय विपरित संचालनमा रहेको एक विद्यालयका शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुर जिल्ला स्थित मकवानपुरगढी गाउँपालिकाको भानु माध्यमिक विद्यालयका चार जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गाउँपालिकाले केन्द्र सरकारको निर्णय विपरित विद्यालय तथा शैक्षिक संस्थाहरु खोलेर कोरोना माहामारीको अवस्था आएको स्थानियहरुको भनाई छ ।

कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाई हुने उक्त विद्यालयमा विद्यार्थी भर्नाका लागि अभिभावकहरु आएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनकुमारी पाख्रिनका अनुसार प्रावि तहका एक शिक्षकको परिवारका सदस्यलाई कोरोना संक्रमण देखियो । कट्याक्ट ट्रेसिङका क्रममा शिक्षकको पनि स्वाब संकलन गरेर परीक्षण गर्दा २५ गते संक्रमण पुष्टि भयो । त्यसले सिंगो गाउँ त्रासमा पर्‍यो ।

शिक्षकको प्रत्यक्ष सम्पर्कमा रहेका केही शिक्षकले कोरोना परीक्षणका लागि स्वाब दिए । शनिबार थप तीन शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये दुई जना प्राथमिक र एक जना माध्यमिक तहका शिक्षक हुन् ।

विद्यालयका अरु शिक्षक तथा विद्यार्थीको पनि कोरोना परिक्षण गरिने गाउँपालिकाले जनाएको छ । अहिलेसम्म कुनै पनि विद्यार्थीको स्वाव संकलन गरिएको छैन ।