हिमाल दोलखा हाइड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम मिति

काठमाडौं – हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज असार २५ गते अन्तिम दिन रहेको छ। कम्पनीले जेठ २२ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको जनाएको छ ।

कम्पनीले हालको पुँजी १ अर्ब ६० करोडको प्रति शेयर अंकित रु १०० को दरले १ कित्ता शेयर बराबर ०.७५ कित्ता अर्थात् ७५ प्रतिशत अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निकाष्शनको गरेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि वैशाख २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले वैशाख २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन पाउने छन् । हकप्रद शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

लगानीकर्ताले लक्ष्मी क्यापिटल, हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको मेरो सेयर प्रयोग गरी आवेदन दिन सकिनेछ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न.९ र १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर संचालन गरिरहेको छ ।