कहिले र कसरी खुल्छ घोराही सिमेन्टको आईपिओ ?

काठमाडौं – घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपिओ शुक्रबारबाट पुनस् खुला हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आईपिओको सम्बन्धमा विभिन्न ४ निर्णय गरेर निकासा दिएपछि बिक्रि प्रबन्धक हिमालयन क्यापिटलले शुक्रबारबाट आईपिओ बिक्री खुला गर्ने तयारी गरेको हो।

क्यापिटल स्रोतका अनुसार धितोपत्र बोर्डले सूचना प्रकाशन गर्नको लागि स्वीकृति दिइसकेको छ । अब शुक्रबार राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरेर शुक्रबार बाट नै आवेदन दिन सकिने गरि तयारी भईरहेको क्यापिटलले जनाएको छ ।

सुरुमा ३ दिनको लागि आवेदन खुलाउने तयारी छ । त्यसपछि आवश्यकताका आधारमा ७ दिनसम्म आवेदन खुल्ने छ । सुरुमा खुल्ने ३ दिनको अवधिमा हालसम्म आवेदन नदिएकाले आवेदन दिन पाउने छन् भने आवेदन दिइसकेकाहरुले आफ्नो आवेदनमा कित्ता थप घट गर्न वा आवेदन नै फिर्ता गर्न पाउने छन् ।

तर हालको मेरोशेयरमा कित्ता थपघट वा आवेदन खारेज फिचर छैन। सिडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मेरोशेयर निर्माण गर्दा कित्ता थपघट वा आवेदन खारेज फिचरको परिकल्पनै नगरिएकोले त्यसो फिचर छैन। उनका अनुसार यी काम अब आवेदकले बैंक तथा वित्तीय संस्था अर्थात् सीआस्वा सदस्यसँग समन्वय गरेर आफै म्यानुअल्ली गर्नु पर्ने छ ।

उनका अनुसार यदि कित्ता थप घट गर्ने हो भने पहिले बैंकलाई आफ्नो आवेदन रिजेक्ट गराईदिनको लागि भन्नु पर्ने छ । त्यसपछि मात्र मेरोशेयरबाट रिअप्पलाईमा क्लिक गरेर कित्ता थपघट गर्न सकिन्छ । तर आवेदन नै खारेजको फिचर भने छैन । आवेदन खारेज गर्ने हो भने बैंकलाई नै भनेर आफ्नो आवेदन खारेज गरिदिनको लागि अनुरोध गर्नु पर्ने छ ।

क्यापिटलले पनि मेरोशेयरमा यी फिचर नरहेकोले यो काम जटिल देखिएको जनाएको छ । तर यसबारे छलफल भईरहेको र आवेदकले नै बैंकलाई जानकारी गराउनु पर्ने नै उत्तम विकल्प देखिएको क्यापिटलले उल्लेख गरेको छ । घोराही सिमेन्टको आईपिओ अध्ययन गर्न गठित समितिको प्रतिवेदनको आधारमा बुधबार देहाय धितोपत्र बोर्डले निम्न ४ निर्णय गरेको थियो ।

यस्ता छन् बोर्डका निर्णयस्

१. केही लगानकर्ताहरुले बैंक खातामा पर्याप्त मात्रामा रकम नहुँदा नहुँदै सर्वसाधारण लगानीकर्ताहरुलाई भ्रमित पार्ने उद्देश्यले अस्वाभाविक रूपमा ठूलो कित्ता शेयर खरिद गर्न आवेदन दिएकोमा उक्त आवेदकहरु निष्काशनकर्ता कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको संचालक र कर्मचारीहरुसंग कुनै सम्बन्ध नदेखिएको तर उल्लेखित आवेदककरले सर्वसाधारणहरुलाई भ्रमित पार्ने उद्देश्यले आवेदन गरेको देखिएकोले जालसाजी सम्बन्धमा नेपाल प्रहरी समक्ष थप छानविनको लागि सिफारिस गर्ने,

२. निष्काशन तथा बिक्री प्रबन्धकले माग भन्दा बढी कित्ता शेयर खरिदको लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशित गरेको हुँदा सो सम्बन्धमा समेत थप छानविन गर्ने,

३. आस्वा सदस्य एनआइसी एशिया बैंक लिमिटेडले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा खातामा पर्याप्त रकम नहुँदा नहुँदै के कसरी आवेदनहरु स्वीकृत भएको हो सो सम्बन्धमा थप छानविन गरी आवश्यक कारवाही अगाडी बढाउने,

४. सार्वजनिक निष्काशनमा निवेदन दिने आवेदक (लगानीकर्ता), आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र निष्काशन तथा बिक्री प्रबन्धकको कामकारवाही शेयर निष्काशनकर्ता कम्पनीको कामकारवाही भन्दा भिन्न रहेको र आवेदक लगानीकर्ताहरुको निष्काशनकर्ता कम्पनीसँग प्रत्यक्ष संलग्नता भएको नदेखिएको अवस्थामा कम्पनीको सार्वजनिक निष्काशन स्थगित भएको कारणवाट आवेदन गरेका सर्वसाधारणहरुको करिब ३ अर्ब ६१ करोड रकम होल्ड भएको तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई निष्काशन गरेको शेयर बाँडफाँड भई २९ करोड ४६ लाख ७८ हजार दुई सय पचास रुपैया कम्पनीको खातामा रकमान्तर भैसेकेको र आ।व। २०७९/८० समेत समाप्त हुन लागेको कुरालाई मध्यनजर गरी बुँदा नं १, २ र ३ मा उल्लेखित विषयमा छानविन कार्य अगाडी बढाउने गरी हाललाई देहाय बमोजिम स्थगन भएको निष्काशन खुला गर्ने ।

क. घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्काशनका लागि सि आस्वा प्रणालीमा दर्ता भएका आवेदनहरुको हकमा आवेदन गरेको शेयर कित्ता थपघट गर्न वा आवेदन फिर्ता र खारेज गर्न सक्ने व्यवस्था गर्ने,

ख. आवेदन फिर्ता वा थपघट गर्न निष्काशन तथा बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले तीन दिनको समय दिने,

ग. धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम १० को उपनियम (२) मा उपनियम (१) बमोजिमको अवधिभित्र निष्काशन गरिएको सबै धितोपत्र बिक्री नभएमा संगठित संस्थाले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा पन्ध्र दिनका लागि धितोपत्रको दरखास्त खुला राख्न सक्नेछ भन्ने व्यवस्था रहेको हुँदा थप गरिएको तीन दिनको समयावधि भित्र माग गरिएको सम्पूर्ण धितोपत्र बिक्री नभएमा मिति २०८०/०२/३२ देखि२०८०।०३।०४ सम्म ५ दिन निष्काशन खुला भइसकेको सन्दर्भमा आवेदन संशोधनको लागि थप गरिएको ३ दिनको समय पश्चात वढीमा थप ७ दिन निष्काशन खुला राख्न सकिने व्यवस्था गर्ने,