असार मसान्तको प्रभाव शेयर बजारमा

काठमाडौं – बुधबार धितोपत्रको दोस्रो बजारमा असार मसान्तको प्रभाव देखिएको छ। आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा लगानीकर्ताहरुले ब्याजको रकम जोहो गर्न शेयर बिक्री गर्दा यस दिन बजारमा बिक्रीचाप बढेको छ।
फलस्वरुप यस दिन नेप्से परिसूचक ३९.२६ अंक घटेर २०४९.४४ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७८ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो दिन साढे २ अर्बबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७७ स्टकको ५३ हजार १०३ पटकको कारोबारमा ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार रुपैयाँ बराबरको ८० लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिटि होटल र रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेभमा कारोबार भएको छ। यसै दिनदेखि कारोबारमा आएका दुई स्टकमध्ये रावा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा मोदी इनर्जीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन बिपिडब्लु लघुवित्तको शेयर पनि १० प्रतिशत घटेर कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १६ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन लाइफ इन्स्योरेन्सको करिब १४ करोडको शेयर कारोबार भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३।३१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको जनाएको छ ।