बीमा प्राधिकरणले एनएलजी इन्स्योरेन्स (NLG) लाई हकप्रद शेयर निष्काशन गर्न अनुमति

काठमाडौं – नेपाल बीमा प्राधिकरणले एनएलजी इन्स्योरेन्स (NLG) लाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको जनाएको छ । हकप्रद निष्काशन कडाई गर्दै आएको प्राधिकरणले एनएलजी इन्स्योरेन्सलाई भने हकप्रद शेयर निष्कनशन गर्न अनुमति दिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको जानकारी गराएका छन् ।
प्राधिकरणको निर्देशन अनुसार असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले ६६ प्रतिशत अर्थात ९६ करोड ३० लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ४२ करोड २२ लाख रुपैयाँ पुग्ने छ ।
हकप्रद शेयर निष्काशन पश्चात पनि कम्पनीको चुक्ता पूँजी नपुग्ने देखिन्छ । कम्पनीले हकप्रद निष्काशन पश्चात पनि पूँजी नपुगे सो बराबरको बोनस शेयर निष्काशन गरेर पूँजी पुर्याउने तयारी गरेको छ ।