मोटर र सम्पत्ति बीमाको भरमा रहेको निर्जीवन बीमा व्यवसाय बागमती प्रदेश केन्द्रित

काठमाडौं – निर्जीवन बीमा कम्पनीहरुको ५० प्रतिशत भन्दा धेरै व्यवसाय मोटर र सम्पत्ति बीमाले धानेको पाइएको छ । बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठसम्ममा मोटर र सम्पत्ति बीमाले निर्जीवन बीमा कम्पनीहरुको ५५.३४ प्रतिशत व्यवसाय ओगटेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमाबाट सबै भन्दा धेरै १६ लाख १ हजार ६४६ वटा बीमालेख जारी गरी १२ अर्ब ७ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको ३३.३५ प्रतिशत हो ।

यस्तै सम्पत्ति बीमा वापत ४ लाख ३८ हजार १०३ वटा बीमालेख बिक्री गरी निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ९६ करोड १२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो कुल बीमाशुल्कको २१.९९ प्रतिशत हुन आउँछ ।

सम्पत्ति बीमा पछि इन्जिनियरिङ्ग बीमाको १७.०८ प्रतिशत योगदान रहेको छ । यस अवधिमा इन्जिनियरिङ्ग बीमा वापत निर्जीवन बीमा कम्पनीहरुले २९ हजार ८७८ वटा बीमालेख जारी गरी ६ अर्ब १८ करोड ४२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यसैगरी विविध बीमाको ११.२२ प्रतिशत, कृषि तथा पशुपन्छि बीमाको ५.७६ प्रतिशत, हवाई बीमाको ५.४० प्रतिशत र सामुन्द्रिक बीमाको ५.०२ प्रतिशत योगदान रहेको छ।

कुल बीमाशुल्कमा लघु बीमाको भने सबै भन्दा अर्थात ०.१८ प्रतिशत मात्रै योगदान रहेको छ । निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा ३३ हजार ९४८ वटा बीमालेख बिक्री गरी ६ करोड ५३ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेका छन् ।

बागमती प्रदेशबाट मात्रै ६७ प्रतिशत बीमाशुल्क संकलन

चालु आर्थिक वर्षको जेठ सम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब १९ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । त्यस मध्ये दुई तिहाई भन्दै धेरै बीमाशुल्क बागमती प्रदेशबाट मात्रै संकलन भएको छ । कुल बीमा शुल्कको ६६.९८ प्रतिशत अर्थात २४ अर्ब २४ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क बागमती प्रदेशबाट मात्रै संकलन भएको हो ।

बागमती प्रदेशपछि कुल बीमाशुल्कमा लुम्बिनी प्रदेशको ८.९८ प्रतिशत अर्थात ३ अर्ब २१ करोड ६४ लाख रुपैयाँ योगदान रहेको छ । यस्तै कुल बीमा शुल्क कोशी प्रदेशको ८.७० प्रतिशत, मधेश प्रदेशको ६.१५ प्रतिशत, गण्डकी प्रदेशको ५.४१ प्रतिशत र सूदुरपश्चिम प्रदेशको २.५२ प्रतिशत योगदान रहेको छ ।

सबै भन्दा कम भने कर्णाली प्रदेशको रहेको छ । यस अवधिमा कर्णाली प्रदेशबाट ५६ हजार ८९२ वटा बीमालेख बिक्री गरी ४९ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको १.३७ प्रतिशत मात्रै हो ।