मर्जरले शाखा कार्यालय र कर्मचारी घटे, बीमाको दायरा भने ४४.२० प्रतिशतमा पुग्यो

काठमाडौं – नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेका जनाइएका छन् । मर्जर पश्चात जीवन बीमा १५ वटा, निर्जीवन बीमा १४ वटा र पुनर्बीमा कम्पनी २ गरी ३१ वटामा सीमित भएका हुन् ।

बीमा कम्पनीहरु मर्जरमा जान थालेपछि शाखा कार्यालयहरु करिब १४ प्रतिशतले घटेका हुन् । चालु आर्थिक वर्षको जेठसम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको शाखा कार्यालयहरु १३.९५ प्रतिशतले घटेर २ हजार ८८७ वटामा सीमित भएका छन् ।

गत आर्थिक वर्षको यहि अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको शाखा कार्यालय ३ हजार ३३५ वटा रहेका थिए । यस्तै बीमा कम्पनीका कर्मचारीहरु पनि ५.५० प्रतिशतले घटेर ११ हजार १९९ जनामा झरेका छन् । गत आर्थिक वर्षको यहि अवधिमा बीमा कम्पनीका कर्मचारीहरु ११ हजार ८५१ जना रहेका थिए ।

बीमाको दायरा ४४.२० प्रतिशत जनसंख्यामा पुग्यो

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा बीमाको दायरा (म्यादी,लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित) ४४ प्रतिशत भन्दा धेरैले बढेको हो । गत आर्थिक वर्षको तुलनामा बीमाको पहुँच ४.२५ प्रतिशत विन्दुले बढेर ४४.२० प्रतिशतमा पुगेको हो । गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा बीमाको पहुँच ३९.९५ प्रतिशत जनसंख्यामा पुगेको थियो ।

म्यादी र लघु म्यादी जीवन बीमालेख सहित पनि बीमाको पहुँच ३८.९९ प्रतिशत पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्षका यसै अवधिमा म्यादी र लघु म्यादी जीवन बीमालेख सहितको यस्तो पहुँच ३७.०४ प्रतिशत मात्रै रहेको थियो ।

बैशाखसम्ममा बैदेशिक रोजगार बीमालेख संख्या ८०.६८ प्रतिशतले बढेर १५ लाख ८३ हजार ७४६ वटा पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ८ लाख ७६ हजार ५४१ वटा यस्तो बीमालेख जारी गरेका थिए ।

यस्तै जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार बीमालेख बाहेक) पनि १७.२७ प्रतिशतले बढेर ५२ लाख ५२ हजार ६३५ वटा बीमालेख जारी भएको बीमा प्राधिकरणको तथ्यांक छ । कुल जीवन बीमालेख संख्या पनि ११.३८ प्रतिशतले बढेर १ करोड ४० लाख ६९ हजार ९३७ वटा पुगेको छ ।

जीवन बीमाको दायरामा प्रति व्यक्ति बीमालेख गणना गरिने भएकोले सामुहिक बीमालेखलाई प्रति व्यक्ति बीमालेखमा गणना गरिएकोले पनि दायरा विस्तार उल्लेख सुधार भएको प्राधिकरणले जनाएको छ ।

निर्जीवन बीमा कम्पनीहरूको बीमालेख संख्या पनि ८.०६ प्रतिशतले बढेर २५ लाख ३७ हजार ४१६ वटामा पुगेको छ । गत वर्षको यहि अवधीमा निर्जीवन बीमा कम्पनीहरुले २३ लाख ४८ हजार २३२ वटा बीमालेख जारी गरेका थिए ।

जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क पनि ४।६२ प्रतिशतले बढेर १ खर्ब ६० अर्ब ७४ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले १ खर्ब ५३ अर्ब ६३ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।