नेकपा सांसद महेश बस्नेतको कमाउ धन्दा : भूकम्प प्रतिरोधी भवन भत्काएर गिट्टी बालुवा तस्कर, जनताका घर जोखिममा

काठमाडौं – सत्तारुढ नेकपाका सांसद महेश बस्नेतले हुँदा खाँदाको सरकारी स्कूलको भुकम्प प्रतिरोधि घर भत्काएर नयाँ भवन बनाउने बहानामा कमाउ धन्दा गरेको पाइएको छ । भक्तपुरको सूयविनायक नगरपालिकामा रहेको महेन्द्र निम्न माध्यामिक विद्यालयको दुई तले भुकम्प प्रतिरोधी भवन भत्काएर नयाँ भवन बनाउने बहानामा करोडौंको स्थानिय सम्पति झ्याम पारेका छन् ।

नगरपालिकाका मेयर बासुदेव थापा र सांसद बस्नेतको मिलेमत्तोमा स्थानिय जनताको भावना विपरित भवन निर्माण गर्न लागेर उत्खनन् गर्दाको सम्पूर्ण सामाग्री गायव पारिएको छ । उक्त स्कूलमा विद्यार्थीको अभाव भएको भन्दै नगरपालिकाले नजिकै रहेको भैरव सामुदायिक विद्यालयसँग गाभेर नियत बस नगरभवन बनाउन लागिएको हो ।

अहिले रहेको नगरपालिकाको भवन भन्दा राम्रो भुकम्प प्रतिरोधी स्कूलको पक्की भवनलाई नगरपालिकाको कार्यलय बनाउन सकिने सम्भावना हुँदा हुँदै सांसद बस्नेत र मेयर थापाले आफ्नो व्यक्तिगत स्वार्थका लागि उक्त भवन भत्काएर नयाँ भवन बनाउन लागेका हुन ।

स्कूलको नाममा रहेको उक्त जग्गामा दुई तलाको अण्डर ग्राण्डसहितको नगरपालिकाको भवन बन्दै छ । भवन बनाउनका लागि अहिले अण्डर ग्राउण्डका लागि जग खार्ने काम भइरहेको छ । बाटोको मापदण्ड विपरित जग खनेर बाटो र स्थानियहरुका घरहरुलाई जोखिममा पारेर उनीहरुले जवरजस्ती कमाउ धन्दा गरिरहेका छन ।

अहिले अण्डरग्राण्डका लागि गहिरो जग खनिएको छ । जग खन्दा ठूलो चट्टान फेला परेको थियो । उक्त चतट्टानबाट गिट्टी र बालुवा निकाली अनेत्र तस्करी भइरहेको छ । सांसद बस्नेत र मयेर थापाको मिलेमत्तोमा एउटा ठेकेदार कम्पनीलाई गिट्टी र वालुवा बेचेको स्थानियले आरोप लगाएका छन् । त्यहाँबाट उनीहरुले करौडौं रुपैयाँ कमाएको आरोप छ ।

मेयर थापा र बस्नेतको सम्बन्ध पारिवारिक भएकाले पनि उनीहरुले आफूखुशी शासन संचालन गर्दै आर्थिक अनियमितता गर्दै आएका छन् । ‘अण्डर ग्राण्ड आवश्यक छैन, बनाउने भएपनि बाटोको मापदण्ड छोडर संरचना बनाउ । हाम्रो घरहरु जोखिममा नपार, भनेर भन्दा मेयर थापा र सांसद बस्नेतले अटेरी गरिरहेका छन्’ स्थानिय यदुनाथ ढुङ्गेलले भने ।

उनले भने, ‘काम पनि राती हुन्छ । राम्रोसँग सुत्न पनि पाइदैन । डोजरले चट्टान फोड्दा घरै भत्किएको जस्तो अनुभव हु्न्छ ।’ ढुङ्गेल भन्छन, ‘डोजर चलेको वेलामा मेरो घर २०७२ सालको भुकम्पले भन्दा धेरै हल्लिन्छ । के हामीलाई सिधै मार्न खोजेको हो ।’

उनले मेयर थापा र सांसद बस्नेतलाई टेलिफोन गर्दा कुनैपनि वास्ता नगर्ने गरेको बताए । ‘राती २ बजेसमेत मैले कल गरेको छु । अन्तिममा डोजर चालकलाई छतबाट इटाले हानेर मारिदिने धम्की दिएपछि काम गर्न छोडेका छन्’ उनले भने ।

यस विषयमा नगरपालिकाका मेयर बासुदेव थापालाई टेलिफोन गर्दा फोन लागेन । उनका स्वकिय सचिवले समस्या समाधानका लागि आफूहरु तयार रहेको बताए । उनले भने, ‘ढुङ्गेल जीलाई भेट्न भनेर मलाई मेयर सावले पठाउनु भएको थियो । तर उहाँसँग भेट भएन । हामी उहाँका मागहरुको सबोधन गर्ने पक्षमा छौं ।’

यता सांसत बस्नेलाई यस विषयमा के भएको हो भनेर बुझ्न टेलिफोन गर्दा उनको फोन उठेन । उनका आर्थिक अनियममितता बारेका थप सूचनाहरु पनि प्राप्त भएका छन । आगामी दिनमा यो विषयको थप फ्लोअपसहित अन्य समाग्री सम्प्रेषण गर्दै जानेछौं ।

हेर्नुहोस् करोडौंको गिट्टी र वालुवा वेचिएको ठाउँको फोटोफिचर ।