जब ‘एरो बील’ च्यातेर भन्सारबाटै २ करोड राजस्व छलियो…

काठमाडौ – निक्कै लामो अनुसन्धानपछि राजस्व अनुसन्धान विभागले निकालेको निष्कर्षका आधारमा भन्सार छलीमा लहसिएको प्रमाण भेटिएपछि काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका ठूलो संख्याका कर्मचारीहरु माथि अनुसन्धान थालिएको छ। विगभाले अहिले उनीहरुसँग धमाधम बयान लिने काम जारी राखेको जनाएको छ ।
रक्षक नै भक्षक भनेजस्तो, राजस्व छली रोक्न बसेको नियमनकारी निकायका अधिकारीहरु नै राजस्व छलीमा संलग्न हुनुले नेपालको कर्मचारी प्रशासनमाथिको भरोसामा फेरि पनि प्रश्न खडा भएको छ । कतिपय कर्मचारीहरु स्वच्छ छवीका भए पनि यस्ता घटनाक्रमले भने उनीहरुको छवीलाई धमिल्याउने काम भएको एक अधिकारीले बताएका छन् । हुन त बेलाबेलामा भन्सार, मालपोत अड्डामा कर्मचारीहरु जान तँछाडमछाड गर्छन् भन्ने आरोप नलागेको होइन। त्यो आरोपलाई यी ४२ कर्मचारीले फेरि पनि पुष्टी गरिदिएका छन्।
अनुसन्धानको घेरामा परेका ती ४२ कर्मचारीहरुमाथि विभागले सोमबार, मंगलबार र बुधबार गरी दैनिक ९/१० जनाका दरले बयान लिएको छ। ‘उनीहरुलाई आलोपालो गरेर बोलाइयो हो, एकै पटक बोलाउँदा उताको काम (भन्सारको काम) प्रभावित हुने र उनीहरु सल्लाह गरेर एउटै बयान दिने निर्णय गरेर आउन पनि सक्छन् भनेर दैनिक ९/१० जनाका दरले बोलाइएको छ, भन्सारका एक जना उच्च अधिकारीले भने।
प्राप्त विवरणअनुसार उनीहरुले विभिन्न ५२ वटा एलसी (प्रज्ञापन पत्र) मार्फत नेपालमा एयरलाइन्सबाट सामान ल्याउँदा व्यवसायीसँग मिलेर राजस्व छली गरेका थिए । त्यसविषयमा परेको उजुरीका आधारमा केही महिनाको अनुसन्धानले ती कर्मचारीहरु संलग्न भएको भेटिएको विभागको महानिर्देशकबाट हालै सरुवा भएका नारायण सापकोटाले बताएका हुन् । अनुसन्धानका लागि लगेको बील-बीजक तथा कागजातमा शङ्का लागेपछि अनुसन्धानलाई थप गहिर्याउँदा विभागले राजस्व छली भएको यकिनका साथ ४२ जना कर्मचारीलाई शङ्काको घेरामा राखेको हो।
घटना के हो ?
जहाजबाट सामान ढुवानी भएर आउँदा त्यस्तो सामानको ढुवानीबापत ‘एरो बील’ जारी भएको हुन्छ । यसरी आएका वस्तुमा लाग्ने भन्सार घोषणा गर्दा ‘सीआईएफ’(कस्ट, इन्स्योरेन्स, फेयर,भाडा)‘डिक्लियर’ भएको हुनुपर्छ । सी (कस्ट)मा आई (इन्स्योरेन्स) र एफ (भाडा) जोड्नुपर्छ । यसरी जोडेर आउने अंक (रकम) मा भन्सार लाग्छ।
यदि, इन्स्योरेन्स र भाडाको कागजात पेश गर्न नसकेको खण्डमा कस्टमा १२ प्रतिशत थप गरेर इन्स्योरेन्स र भाडा कायम गर्ने भन्ने नियम छ। जस्तोस् १ सय रुपैयाँको वस्तु आयात गर्दा त्यसको बीमा र भाडाबापतको रकम कायम हुने बील-बीजक तथा कागजात नभएको खण्डमा विमानस्थल भन्सार कार्यालयले उक्त वस्तुको १ सय रुपैयाँ मूल्यमा थप १२ प्रतिशतले हुन आउने १२ रुपैयाँ थप गरी त्यसमा ऐन अनुसार भन्सार लिन सक्ने व्यवस्था छ।
तर, यो घटनामा एरो बील नै पेश नगरेको पाइएको छ । विभिन्न ५२ वटा एलसी खोलेर व्यवसायीले सामान ल्याउँदा सामान बोकेर ल्याएको सम्बन्धित एयरलाइन्सले ढुवानीबापत लिएको शुल्कको बील नै भन्सार विन्दुमा नदेखाई आफूखुसी भाडादर कायम गरेर राजस्व छली गरेको पाइएको हो।
‘उदाहरणका लागि कुनै फर्मले कुनै एयरलाइन्सलाई सामान बोकेबापत १ हजार डलर भाडा तिर्यो, त्यसको बील त एयरलाइन्सले दिएको हुन्छ, तर भन्सारबाट सामान छुटाउँदा कर छली गर्न भाडा तिरेको एरो बील देखाएनन्, अनि १ हजार डलर तिरे पनि आफैँले एउटा कागजमा भाडा १ सय डलर मात्रै हो भनेर लेखिदिए, राजस्व अनुसन्धान विभाग स्रोतले बिजपाटीसँग भन्यो, ‘एरो बील दाखिला नगरी भाडा स्वघोषणा गर्ने काममा फर्मका सञ्चालकसँग भन्सारका कर्मचारीको मिलेमतो देखियो, त्यही भएर पहिलो चरणमा कर्मचारीबाट बयान लिन सुरु गरिएको छ, अब सामान ल्याउने व्यवसायी, भन्सार एजेन्ट सबैसँग क्रमशः बयान लिइन्छ।
राजस्व अनुसन्धान विभागले ५२ वटा एलसीबाट २ करोड जति राजस्व छली भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। उजुरी परेका ५२ वटा एलसीबारे अहिलेसम्म भएको अनुसन्धानले २ करोड जति राजस्व छली भएको देखिन्छ, विभागले एक महिनाभित्र अनुसन्धान सकेर मुद्दा दायर गर्छ, विभागका एक जना अधिकारीले भने, राजस्व छलीका मुद्दामा कसूर प्रमाणित भयो भने बिगो बराबर जरिवाना पनि लाग्छ, जरिवानासहित ४ करोड बिगो माग हुन सक्ने देखिन्छ, तर अन्तिमसम्म बढ्न पनि सक्छ।