संसदमा बजेट खिचातानीको असर सेयर बजारमा, ३५ अंक घट्यो

काठमाडौं – आगामी आर्थिक वर्षको बजेटमाथि संसद जारी खिचातानीको असर सेयर बजारमा परेको जनाएको छ । सेयर लगानीकर्ताले असन्तुष्टि प्रकट गरेको कारोबारको अवस्थाले देखाएको छ। लगातार बढिरहेको सेयर बजार बुधबार ३५.३७ अंक घटेको छ।

२२ नाघिसकेको बजार अन्तत:२१५१ मा ओर्लिएको छ। यद्यपि संसदबाट बजेट भने पारित भइसकेको छैन। बजेट सार्वजनिक भएपछि नै सेयर लगानीकर्ताले आपत्ति जनाउँदै आएका थिए। सेयर बजारको आम्दानीलाई पनि आयकरको दायरामा ल्याउने सरकारको निर्णय विवादित बनेको थियो। लगानीकर्ताको चर्को विरोधपछि अर्थमन्त्री उक्त निर्णयमा पछि हटेका थिए।

उक्त बुँदाबाहेक सेयर बजार र सूचीकृत कम्पनीहरुलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने नीति बजेटमा समावेश गरिएको छ। मर्जर र एफपीओको विवादलाई सरकारले निष्कर्षमा नपुर्‍याइ बजेट संसदबाट पारित गर्न खोज्दा लगानीकर्ताको मनोबल गिरेको हो।

पछिल्लो वृद्धिमा यस्तो फराकिलो गिरावट अनुभव गरिएको थिएन। यस दौरान नाफा बुक गर्नेहरु पनि सक्रिय छन्। उतारचढाव उल्लेख्य हुँदा कारोबार पछिल्लो दुई दिनको भन्दा उच्च छ। लगभग ६ अर्बको सेयर किनबेच भयो।

जसमध्ये हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र सोल्टी होटलमा किनबेच तीव्र छ। यी तीनको मात्रै एक अर्ब ३५ करोडको सेयर खरिद बिक्री भएको हो।

बजार भारी दरमा घट्दा जीवन बीमाप्रतिको आकर्षण भने कायमै छ। समग्र बजार प्रभावित हुँदा पनि जीवन बीमाका सेयरमा उल्लेख मूल्य वृद्धि देखिन्छ। हिमालयन लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लाग्यो। समूह पनि २.५ प्रतिशत बढेको हो।