ऋण नतिर्ने बहानामा बैंकिङ्ग सेवा अवरुद्ध गर्न खोज्नेलाई कारवाही गर्न बैंक तथा वित्तीय संस्था संघहरुको आग्रह

काठमाडौं – ऋण नतिर्ने बहानामा बैंकिङ्ग सेवा अवरुद्ध गर्न खोज्नेलाई कारवाही गर्न बैंक तथा वित्तीय संस्थाका संघहरुले आग्रह गरेका छन्। वित्तीय क्षेत्रका ४ वटा संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कारवाहीको माग गरेको बताएका हुन्।
आज पूर्वी नेपालको इटहरी, सुनसरी तथा विर्तामोड, झापा स्थित केही बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको शाखामा केही व्यक्तिहरुले शाखा संचालनमा अवरोध गरेको, कर्मचारीहरुलाई धम्क्याएको र ग्राहकहरुलाई अत्यावश्यक बैंकिङ्ग सेवा लिनबाट बञ्चित गरेकोमा संघहरुले निन्दा गरेका छन्।
यस विषयमा सुरक्षा निकायले यथाशिघ्र आवश्यक कदम लिई शाखा संचालन गर्न तथा कर्मचारी-ग्राहकको सुरक्षाका लागी माग गरेको जनाएको छ।
ऋण लिए पछि तिर्नु पर्छ भन्ने सामान्य सिद्धान्त हामी सबैले बुझ्न पर्ने र ऋण नतिर्ने बहानामा यस प्रकारका अराजक गतिविधि गर्नेहरुलाई तुरुन्तै कारवाहीको दायरामा ल्याई शान्ति-सुरक्षा कायम गरी अत्यावश्यक सेवा बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको संचालन तथा कर्मचारीहरुलाई आवश्यक सुरक्षा प्रदान गर्न माग गरेको छ।
भूकम्प पछिको समय होस वा कोभिडको महामारी, कुनै पनि विषम परिस्थितीमा समेत आफ्नो ज्यानको पर्वाह नगरी बैंक, वित्तीय तथा लघुवित्त क्षेत्रका कर्मचारीहरु अहोरात्र आफ्ना ग्राहकहरुलाई सेवा पुर्याउन खटिएको विज्ञप्तिमा उल्लेख रहेको छ ।
मुलुकले समेत अत्यावश्यक सेवाको रुपमा पहिचान गरेको बैंकिङ्ग क्षेत्र निर्वाध रुपमा संचालन गर्न र सेवा पुर्याउन कुनै पनि तत्वहरुले बाधा पुर्याएको खण्डमा सो गैर–कानुनी हुने र ग्राहकहरुले सेवा लिन आउँदा कुनै पनि अबरोध गरिएमा वा शाखा संचालनमा कुनै बाधा पुर्याइएको खण्डमा सो उपर सुरक्षा निकायले आवश्यक कदम लिनुपर्ने जनाएको छ। साथै, आगामी दिनमा यस प्रकारका कुनै पनि गतिविधिहरु भएको खण्डमा यसका विरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताएको छ।