७% ब्याजमा लिएको पैसा ३%मा राख्न मरिहत्ते गर्दै बैंक, खराब नियतकाले ऋण पाउने जोखिम

काठमाडौंं – यतिबेला बजारमा साधारण बचतको ब्याज ५.४ देखि ७.४ प्रतिशतसम्म छ। संस्थागत र मुद्दती निक्षेपको ब्याज भने अलि बढी नै छ। संस्थागतको ७.९९ प्रतिशत र मुद्दती निक्षेपको ९.९९ प्रतिशत रहेको छ।
नेपाल बैंकर्स संघले पछिल्लो जेठ महिना मै कायम गरेको ब्याजदर हो। त्यस बेला पनि ब्याजदर स्थिर नै राखेका बैंकले असारका लागि पनि त्यही ब्याजदरलाई निरन्तरता दिए। यस अनुसार बैंकहरुले सर्वसाधारणसँग कम्तीमा पनि ५.४ देखि ७.४ प्रतिशतसम्म निक्षेप सङ्कलन गर्छन्। तर महँगो दरमा लिएको पैसा भने यतिबेला बैंकहरुलाई बढी हुन थालेको छ।
सर्वसाधारणसँग उठाएको पैसा लगानी गर्न नसकेपछि बैंकहरु उक्त पैसा राष्ट्र बैंकलाई आफूले लिएको दर भन्दा पनि कम ब्याजदरमा जिम्मा लगाउन थालेका छन्। नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएको भन्दै रिभर्स रिपो मार्फत पैसा खिचिरहेको छ।
उसले पछिल्लो पटक १० अर्ब रुपैयाँ खिचेकोमा पुनः आइतबार २० अर्ब रुपैयाँ खिच्ने सूचना जारी गरेको छ। पछिल्लो पटक १० अर्ब रुपैयाँ खिच्दा ब्याजदर भने ३.०१ प्रतिशत कायम भएको थियो। यस अघिको रिभर्स रिपोमा ब्याजदर ४.३२ प्रतिशत कायम भएको थियो। यस आधारमा रिभर्स रिपोको ब्याजदर थप घट्यो भने अन्यथा मान्नु पर्ने स्थिति छैन। किनकि बैंकहरुसँग बढी पैसा भएर कहाँ थन्क्याउ भन्ने स्थितिमा बैंकहरु पुगेका छन्।
बैंकहरुले आफूले लिएको भन्दा कम रेटमा पैसा राख्नु पर्ने अवस्था आउँदासम्म ब्याजदर भने घटाएका छैनन्। जेठको पहिलो साताबाटै बढ्दै गएको अधिक तरलता असारमा आएर अत्यधिक बढेपछि राष्ट्र बैंक पैसा खिच्न बाध्य भएको हो। असारमा थप पैसा बढ्ने थाहा पाउँदा पाउँदै पनि बैंकहरुले भने असारको ब्याजदरमा कुनै परिवर्तन गरेनन्। अहिलेको ब्याजदरमा उद्यमीले पैसा लिँदैनन्, व्यापारीले पनि लिँदैनन्।
बैंकहरुले कहाँ लगाउने पैसा रु अधिक तरलता हुँदा नेपाल राष्ट्र बैंकले ब्याजदर प्रतिस्पर्धामा छोडिदिनु पर्ने थियो। तिम्रो लगानीको अपरच्युनिटि छैन भने निक्षेपकर्तालाई बढी ब्याज नदेउ भन्नु पर्ने थियो केन्द्रीय बैंकले। राष्ट्र बैंकले आइएमएफ र विश्व बैंकलाई देखाएर बैंकहरुलाई ब्याजदर घटाउन दिँदैन। भन्नलाई चाहिँ बैंकहरुको ब्याजदर खुला छोडिएको भन्न नबिर्सने। यही अवस्थाले गर्दा न अर्थतन्त्र अघि बढ्छ न त बैंकहरु नै अघि बढ्ने स्थिति हुन्छ बैंकिङ क्षेत्रका एक जानकारले मेरो लगानीसँग भने।
अहिलेकै अवस्था रहिरहने हो भने खराब कर्जा बढ्न टेवा मिल्ने उनको भनाई छ। “बढी ब्याजमा पैसा लिएर अधिक हुँदै गएपछि कति दिन ३र४ प्रतिशतमा राख्ने भन्ने स्थितिमा बैंकहरु पुग्छन्। त्यस्तो अवस्था बढ्दै गएपछि बैंकहरुले जस्तो पायो त्यस्तै ऋण दिन थाल्ने स्थिति हुन्छ। असल नियत हुनेले भन्दा खराब नियत हुनेको पहुँच बैंकमा बढ्ने स्थिति हुन्छ।
त्यसले आउने दिनमा असल भन्दा खराब कर्जा बढ्ने स्थिति हुन्छ। बैंकहरुले वास्तविक ऋण चाहिनेलाई भन्दा बढी शेयर बजार, ट्रेडिङ र अनुत्पादक क्षेत्रमा पैसा खन्याउन थाल्छन्। जसले आर्थिक क्षेत्रमा खासै फाइदा गर्दैन” उनले भने। तर राष्ट्र बैंकले भने प्रणालीमा तरलता बढी हुनुलाई खासै ठुलो मानेको छैन।
प्रणालीमा पैसा बढी हुने र कम हुनुलाई नियमित प्रक्रिया रुपमा लिएको बताउँछ। त्यसैको लागि केन्द्रीय बैंकले बढी भएको बेला पैसा खिच्ने र कम भएको बेला पैसा प्रवाह गर्ने औजारको विकास गरेको उसको तर्क छ। पछिल्लो समय बढ्दै गएको तरलता र घट्दै गएको अन्तर बैंक ब्याजदरले आउने दिनमा बैंक ब्याज घट्ने सङ्केतको रुपमा लिनु पर्ने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेल बताउँछन्।