मनिराम ज्ञवालीसहितका व्यक्तिहरुको नेतृत्वमा भएको ऋण नतिर्ने आन्दोलन नरोकिएपछि लघुवित्त वित्तीय संस्थाहरु आन्दोलनमा उत्रिने

काठमाडौं – मनिराम ज्ञवालीसहितका व्यक्तिहरुको नेतृत्वमा भएको ऋण नतिर्ने आन्दोलन नरोकिएपछि लघुवित्त वित्तीय संस्थाहरु आन्दोलनमा उत्रिने भएका छन्। लघुवित्तविरोधी आन्दोलनले पारेको प्रभावबारे नेपाल सरकारलाई जानकारी गराउन लघुवित्तहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र देशभरिका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापनपत्र बुझाउने भएका छन्।
संस्थागतरुपमा नै ऋण नतिर्ने आन्दोलन बढेपछि पछिल्लो समय काम गर्न नसकिने अवस्था आएकाले आफूहरु गर या मरको आन्दोलनको तयारीमा लागेको लघुवित्तका सीईओहरुको छाता संगठन लघुवित्त बैंकर्स संघ नेपालका कामु अध्यक्ष मिन बोहराले बताएका हुन् ।
उनकाअनुसार ऋण नतिर्ने आन्दोलनमा लागेकाहरुले कार्यलय पुगेर लघुवित्तका कर्मचारीमाथि हातपात गर्ने क्रियाकलाप बढेको छ । त्यसैले शान्ति सुरक्षाको माग गर्दै आज देशका ७७ जिल्लाका सिडियो र प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको संघले बताएको छ ।
ऋण नतिर्ने आन्दोलनमा लागेकाहरुको ज्यादती सहननसक्ने अवस्थामा पुग्यो, यो समस्या सिङ्गो लघुवित्त क्षेत्रको मात्र नभइ सिङ्गो नेपाली समाजको हो। लघुवित्त विरोधी आन्दोलन नरोकिए लघुवित्तमा भएका ६० लाख सदस्यलाई सडकमा उतार्छौ बोहराले स्पष्ट पारेका छन्।
त्यस्तै लघुवित्त बैंकर्स संघका महासचिव रामबहादुर यादवले ऋण नतिर्ने आन्दोलनमा लागेका ५,७ सयका कारण ६० लाख सदस्यको २१२ अर्ब रुपैयाँ र बैंकहरुको २२६ अर्ब रुपैयाँ पनि जोखिममा परेको बताएका हुन्। यो आन्दोलनका कारण पछिल्लो समय ऋण नतिर्नेको संख्या ६ लाख नाघेकाले अब लघुवित्त वित्तीय संस्थाहरुबाट कर्जा परिचालन र कर्जा असुली चिन्ताजनक अवस्थामा पुगेकाले आन्दोलनको विकल्प नरहेको उनले बताए।
आज देशैभरका सिडियो र प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदा पनि समाधान ननिस्किए ६० लाख सदस्यलाई सडकमा उतारेर लघुवित्तको शक्ति प्रदर्शन गर्ने यादवले चेतावनी दिए।
हाल सञ्चालनमा रहेका ६२ लघुवित्तमा करिब ६० लाख ८८ हजार सदस्य छन्। यीमध्ये ऋणीको संख्या ३२ लाख ६० हजार छन्। पछिल्लो समय ३२ लाख ६० हजार ऋणीमध्ये कर्जा नतिरेर भाखा नाघेको संख्या ६ लाख ४१ हजार पुगेको लघुवित्त बैंकर्स संघले जनाएको छ।
६२ वटा लघुवित्तले अहिलेसम्म ४ खर्ब ५१ अर्ब लगानी गरेका छन्। जसमध्ये २१२ अर्ब रुपैयाँ लघुवित्तमा आवद्ध सदस्यहरुको निक्षेपको पैसा हो भने २२६ अर्ब रुपैयाँ लघुवित्तहरुले बैंकहरुबाट कर्जा सापटी लिएको पैसा हो।